हबिबको सेयर खरिदपछि हिमालयन बैंकमा नेशनल लाइफको प्रभुत्व

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

हिमालयन बैंकको २ करोड ८० लाख कित्ता सेयर हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अबको एक साताभित्र स्वामित्व हस्तान्तरण सकिने गरी तयारी तीव्र गतिमा भइरहेको सम्बन्धित कम्पनीहरूले जनाएका छन्।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाका अनुसार सेयरको नामसारीका लागि आवश्यक १८ प्रकारका कानुनी कागजात तयार पारेर नेप्सेको प्रणालीमार्फत प्रक्रिया अघि बढाइएको छ। बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएकाले यो प्रक्रिया कम्पनी रजिस्ट्रार कार्यालयबाट नभई नेप्सेको प्लेटफर्ममार्फत सम्पन्न हुँदैछ।

नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले धितोपत्र दलाल कम्पनीहरूलाई जिम्मा दिइसकिएको र अबको एक साताभित्र हक हस्तान्तरण पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।

पाकिस्तानी बहुराष्ट्रिय संस्था हबिब बैंक लिमिटेडको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा ‘एकमुष्ठ’ रूपमा खरिद गर्दैछ। यसका लागि नेशनल लाइफले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५३ रुपैयाँ तिर्नेछ। नेपाल राष्ट्र बैंकले यस कारोबारका लागि तिहारअघि नै अन्तिम स्वीकृति दिएको थियो।

यो सेयर खरिदपछि हबिबले नेपालबाट करिब २ करोड ३६ लाख अमेरिकी डलर पाकिस्तान लैजाने तयारी गरेको छ।

सेयर हस्तान्तरण सम्पन्न भएपछि हबिबका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका फह्रान तालिबले राजीनामा दिनेछन्। त्यसपछि बैंकको सञ्चालक समितिले नेशनल लाइफका प्रतिनिधिलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गर्न सक्नेछ।

हिमालयन बैंकका अधिकारीका अनुसार, हबिबको प्रतिनिधि हटेपछि नेशनल लाइफले आफ्ना तर्फबाट सञ्चालक नियुक्त गर्न औपचारिक निवेदन दिनुपर्नेछ, जसको आधारमा नयाँ सञ्चालकको नियुक्ति हुनेछ।

यस हस्तान्तरणपछि नेशनल लाइफ इन्स्योरेन्स हिमालयन बैंकको सबैभन्दा ठूलो सेयरधनी बन्नेछ। हाल डेढ प्रतिशत हाराहारी स्वामित्व बोकेको कम्पनीले हबिबको थप १३ प्रतिशतजति सेयर खरिद गरेपछि उसँग करिब १४.५ प्रतिशत स्वामित्व पुग्नेछ।

बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार, यो स्वामित्व अनुपातले नेशनल लाइफलाई हिमालयन बैंकमा निर्णायक भूमिका दिलाउनेछ र नयाँ सञ्चालकको प्रतिनिधित्वका लागि आगामी साधारण सभा कुर्न नपर्ने देखिन्छ।

तर, नेशनल लाइफको तर्फबाट हिमालयन बैंकमा कसलाई सञ्चालक बनाइने भन्ने विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन। “त्यो हाम्रो सञ्चालक समितिको निर्णयमा निर्भर छ,” सीईओ खत्रीले बताएका छन्।

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार