चालु आर्थिक वर्षको चार महिना पूरा भइसके पनि मधेश प्रदेशका २४ स्थानीय तहले अहिलेसम्म आफ्नो बजेट प्रस्तुति गर्न सकेका छैनन्। देशभरका ७५३ स्थानीय तहमध्ये ७२८ स्थानीय तहले नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिसकेका छन्, तर २५ स्थानीय तह अझै मागअनुसारको बजेट ल्याउन असफल भएका छन्।
संविधानअनुसार संघले प्रत्येक वर्ष जेठ १५ गतेभित्र, प्रदेश सरकारले असार १ भित्र र स्थानीय तहले असार १० भित्र बजेट पेस गर्नुपर्ने प्रावधान छ। तर, चालु आवको पहिलो चौमासिक सकिँदा पनि मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ११२ स्थानीय तहले मात्र बजेट पेस गरेका छन्, बाँकी २४ स्थानीय तह भने अझै बजेटविहीन छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सप्तरीका राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, बलान बिहुल गाउँपालिका र कल्याणपुर नगरपालिकाले अहिलेसम्म बजेट पेश गरेका छैनन्।
त्यसैगरी सिरहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका र जनकन्दिनी गाउँपालिका पनि बजेट पेस गर्न बाँकी छन्।
धनुषाकै धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, मलंगवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कठैरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा बिजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, बिश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले पनि चालु आवको बजेट सार्वजनिक गरेका छैनन्।
यसबाहेक लुम्बिनी प्रदेशको बुद्धभूमि नगरपालिका अन्तर्गत पर्ने सूद्धोधन गाउँपालिकाले पनि बजेट प्रस्तुत गर्न सकेको छैन।
