सिँचाइ मन्त्री मा. कृष्णकुमार तामाङको पहल ठूला र परिणाममुखी आयोजनामा जोड : नदीमा मजबुत तटबन्ध, खेतमा बाह्रै महिना सिँचाइ

काठमाडौं । “नदीमा मजबुत तटबन्ध, खेतमा बाह्रै महिना सिँचाइ, गाउँमा सुन्दर ताल–समृद्ध बागमतीको नयाँ अभियान” भन्ने मूल नारालाई सार्थक बनाउने लक्ष्यसहित बागमती प्रदेश सरकारले यस वर्ष सिन्धुपाल्चोक जिल्लामा सिँचाइ, नदी नियन्त्रण र ताल निर्माणका ठूला तथा दीर्घकालीन आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। बाढी नियन्त्रण, कृषि उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने योजनामार्फत स्थानीय विकासलाई दिगो र परिणाममुखी बनाउने लक्ष्य लिइएको हो।

बागमती प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री मा. कृष्णकुमार तामाङको पहलमा यसपटक साना, टुक्रे र प्रभावहीन आयोजनाभन्दा प्रत्यक्ष उपलब्धि दिने, समयमै सम्पन्न हुने र दीर्घकालीन लाभ पुग्ने योजनालाई प्राथमिकता दिइएको मन्त्रीको सचिवालयले जनाएको छ यसअघिको बजेटमा ४४२५ वटा बिभिन्न आयोजना रहेकोमा हाल त्यसलाई घटाईएको छ । विगतमा बजेट छरिने, योजना अलपत्र पर्ने र अपेक्षित प्रतिफल नआउने अवस्थालाई अन्त्य गर्दै अब सीमित तर प्रभावकारी आयोजना अघि बढाउने नीति अवलम्बन गरिएको सचिवालयको भनाइ छ।

प्रदेश सरकारले हेलम्बु, पाँचपोखरी थाङपाल, चौतारा साँगाचोकगढी, मेलम्ची, बलेफी र भोटेकोशीलगायत क्षेत्रका तटबन्ध, सिँचाइ तथा जलाशय निर्माणका महत्वपूर्ण योजनालाई बजेटमार्फत अघि सारेको छ। यस लगायत प्रदेशका अन्य स्थानमा समेत महत्वपूर्ण योजनालाई बजेटमार्फत अघि सारिएको छ। नदी नियन्त्रण, खेतीयोग्य जमिनको संरक्षण, वर्षभरि सिँचाइ सुविधा विस्तार तथा ग्रामीण क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासलाई केन्द्रमा राखेर योजना छनोट गरिएको जनाइएको छ।

मन्त्री तामाङले बजेट विनियोजन गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै अब कार्यान्वयनलाई प्राथमिकतामा राखिने स्पष्ट गरेका छन्। उनका अनुसार योजना स्वीकृत भएपछि निर्माण कार्यको नियमित अनुगमन गरिनेछ भने गुणस्तर, पारदर्शिता र निर्धारित समयभित्र काम सम्पन्न गराउन मन्त्रालय स्वयं सक्रिय रहनेछ।

मन्त्रीको सचिवालयका अनुसार विकासको वास्तविक मापन बजेटको आकारले होइन, त्यसबाट प्राप्त हुने परिणामले हुने भएकाले आगामी दिनमा पनि जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने ठूला, दिगो र परिणाममुखी आयोजनालाई मात्र प्राथमिकता दिइनेछ। सिँचाइ, तटबन्ध र ताल निर्माणमार्फत कृषि उत्पादन वृद्धि, प्राकृतिक विपद् न्यूनीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँदै “समृद्ध बागमती” निर्माण गर्ने अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने विश्वास व्यक्त गरिएको छ।