विपद्–पीडितलाई प्याब्सनको राहत सहयोग, दिगो कोष निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौँ । निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले हालैका प्राकृतिक विपद्बाट प्रभावित भएका सदस्य तथा विद्यार्थी परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै दिगो राहत संरचना बनाउन पहल सुरु गर्ने निर्णय गरेको छ।

इलाममा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका विद्यार्थीको परिवारलाई १ लाख ५० हजार रुपैयाँ र ताप्लेजुङका दिवंगत प्याब्सन अध्यक्षको परिवारलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको बैठकमा जानकारी दिएकाे छ ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले संस्थाले संकटका क्षणमा आफ्नो सामाजिक जिम्मेवारी वहन गरेको बताउनुभयाे। उहाँले सदस्य विद्यालयहरूलाई नियमित योगदानमार्फत विपद् सहयोग कोष विस्तारमा सहभागी हुन समेत आग्रह गर्नुभएकाे छ ।

शर्माका अनुसार नयाँ राहत संरचनाले आपत् वा आकस्मिक परिस्थितिमा ३ लाखदेखि ७ लाख रुपैयाँसम्म सहयोग प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

बैठकले विद्यालय समुदायसँगै समाजमा पर्ने विपद्मा पनि राज्य संयन्त्रसँग समन्वय गर्दै सहयोग गर्ने प्रतिबद्धता  जनाउनु भएकाे छ।