पोखरा । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले युवाको भविष्य स्टार्टअप, प्रविधि र नवप्रवर्तनसँग जोडिएको बताएका छन्। नयाँ सोचलाई व्यावसायिक स्वरूप दिन सके युवाले आफ्नै देशमा प्रशस्त अवसर सिर्जना गर्न सक्ने उनको धारणा छ।
पोखरामा आयोजित स्टार्टअप समिट नेपाल २०२६ मा बोल्दै राजदूत खानले प्रविधिको विकाससँगै उद्यमशीलताका नयाँ सम्भावना विस्तार भइरहेको बताए। उनले युवालाई सिर्जनशीलता, नवीन सोच र प्रविधिको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरे।
पाकिस्तानमा पनि स्टार्टअप तथा प्रविधिमा आधारित उद्यम विकासका अनुभव रहेको उल्लेख गर्दै उनले नेपाल र पाकिस्तानबीचको सहकार्यबाट उद्यमशीलता प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्न सकिने बताए।
उनका अनुसार आजको प्रतिस्पर्धात्मक विश्वमा परम्परागत सोचबाट मात्र व्यवसाय अघि बढाउन सम्भव छैन। नयाँ प्रविधि र सिर्जनात्मक अवधारणालाई बजारको आवश्यकतासँग जोड्न सके युवा उद्यमीले राम्रो सम्भावना निर्माण गर्न सक्छन्।
स्टार्टअप समिट नेपालले युवालाई उद्यमशीलतामा प्रेरित गर्ने र नयाँ व्यवसायको सम्भावना पहिचान गर्ने उद्देश्य राखेकाले पाकिस्तानी राजदूतावासले पनि अभियानमा सहकार्य गरेको उनले बताए।

