प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजिन शाक्य पक्राउ

प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पक्राउ परेका छन् । आज बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शाक्यलाई पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं.१७ घर भएका ४२ वर्षीय शाक्यलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि ललितपुरको ईखाँछेबाट नियन्त्रणमा लिइएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

सीआईबीका सूचना अधिकारी श्रेष्ठका अनुसार रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लिमिटेडलाई हानी र आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुनेगरि रेमिट वापतको प्रिफण्डिङ दिनसक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरि एक अर्ब रुपैयाँ हानीनोक्सानी पुर्‍याएको शाक्यमाथि आरोप छ ।

सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार शाक्यमाथि प्रभु बैंकलाई १ अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्‍याएको आरोप छ । उनले रेमिट ट्रान्सफरबाट बैंकलाई फाइदा हुने भन्दै रेमिट बापतको ‘प्रिफन्डिङ’ दिन सकिने कानुनी व्यवस्थाको दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

प्रभु म्यानेजमेन्ट प्रालिलाई नियम विपरीत सुपर एजेन्ट बनाई एडभान्स रकम दिएको र रेमिट कारोबार स्थगित भएपछि पनि लामो समयसम्म उक्त रकम स्वार्थ समूहलाई प्रयोग गर्न दिएको आरोप पनि उनीमाथि छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरी बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ नोक्सानी पुर्‍याएको र सो अपराध लुकाउन थप कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको सीआईबीले जनाएको छ ।

यसअघि यसै प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरूमाथी बैंकिङ कसूरमा अनुसन्धान भइरहेको छ ।