पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनमा गति दिने संकेत

कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको छ। माघ २०७७ मा २० महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म केवल ५१ प्रतिशत भौतिक प्रगति मात्रै भएको छ। तेस्रो पटक थप गरिएको म्यादसमेत गत साउनमा समाप्त भइसकेको छ।

शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माण भइरहेको उक्त भवन १० करोड ५५ लाख रुपैयाँ (कर बाहेक) लागतमा निर्माण गर्न लागिएको हो। तर लामो समयदेखि काम सुस्त हुँदा अस्पतालको सेवा विस्तारमा समस्या देखिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार निर्माण स्थलको अनुगमन गर्दै हालको प्रगतिबारे जानकारी लिएका छन्। अनुगमनका क्रममा उनले महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग बैठक गरी निर्माण सम्पन्न हुने समय तालिका र अवरोधबारे छलफल गरेका थिए।

मन्त्री घिसिङले अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको संवेदनशील संरचनामा भएको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै अब निर्माणलाई यथास्थितिमा राख्न नसकिने स्पष्ट पारे। उनले तत्काल काम सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्दै नयाँ प्रक्रियामा जाने चेतावनी दिए। एक हप्ताभित्र निर्माणले गति नलिए ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएका छन्।

यसैबीच, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन अभावका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै तत्काल निर्माण कार्य अघि बढाउनुपर्ने बताए। उनले समयमै काम हुन नसके ठेक्का तोडी नयाँ प्रक्रियाबाट निर्माण अघि बढाउनुको विकल्प नरहेको धारणा राखे।

सरकारको कडा निर्देशनपछि निर्माण कार्यले अब गति लिने अपेक्षा गरिएको छ। समयमै भवन सम्पन्न भए पोखरा र आसपासका जिल्लाका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।