सभामुख देवराज घिमिरेले जनताकेन्द्रित संसदीय अभ्यास अवलम्बन गर्दै कार्यक्षमता र पेशागत निष्ठा थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। संघीय संसद सचिवालयमा आज आयोजित संसद सेवा दिवस २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संसद सेवामा कार्यरत सबै निजामती कर्मचारीलाई सुख, शान्ति र प्रगतिको कामना गरे।
सभामुख घिमिरेले संविधान कार्यान्वयन र कानून निर्माण प्रक्रियालाई सफल बनाउन संघीय संसदजस्तो राज्यको सर्वोच्च प्रतिनिधि संस्थालाई प्रशासनिक तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको संसद सेवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। “संसद लोकतन्त्रको मन्दिर हो र संसद सेवा त्यसको सञ्चालन सुनिश्चित गर्ने पवित्र जिम्मेवारी हो,” उनले उल्लेख गरे।
उनले गत १९ वर्षअघि संसदको अभ्यासलाई प्रभावकारी, मर्यादित र पेशागत बनाउन छुट्टै ऐनमार्फत संसद सेवा स्थापना गरिएको स्मरण गराउँदै हरेक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाइँदै आएको बताए। निष्पक्ष, पेशागत रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संरचना बिना सशक्त संसद सम्भव नहुने भन्दै सभामुख घिमिरेले संसदको स्वायत्तता कायम राख्दै सेवा प्रवाहलाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउँदै लैजाने विश्वास व्यक्त गरे।
यसैगरी, उपसभामुख इन्दिरा रानाले संसदको गरिमा र अधिकार कायम राख्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्। उनले संविधानले परिकल्पना गरेको व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिहरूले छरितो ढंगले शासन सञ्चालन गर्न सक्ने वातावरण निर्माणमा संसद सेवाको भूमिका महत्वपूर्ण हुने धारणा राखिन्।
संसद सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उपसभामुख रानाले बदलिँदो समयअनुसार संसद सेवालाई अझ दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन्।
