प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतले हुन आउने कुल १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२ रुपैयाँ ८५ पैसा बराबरको लाभांश वितरण गर्ने भएको छ। यसमध्ये ८ प्रतिशत अर्थात् १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७ रुपैयाँ २९ पैसा बराबरको बोनस शेयर शेयरधनीलाई प्रदान गरिनेछ।
त्यसैगरी, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत बराबरको नगद लाभांश पनि वितरण गरिने बैंकले जनाएको छ। नगद लाभांशको रकम ८ करोड १६ लाख ९५ हजार ५५ रुपैयाँ ५६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश शेयरधनीलाई वितरण गरिनेछ। बैंकको यो निर्णयले शेयरधनीलाई प्रतिफल दिने प्रतिबद्धता झल्काउनुका साथै बैंकप्रति लगानीकर्ताको विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ।
