झापाको बुद्धशान्ति गाउँपालिका–३, डाँडागाउँमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी खगेन्द्र बहादुर खड्काका अनुसार मृत हात्ती स्थानीय लाल बहादुर रसाइलीको खेतमा फेला परेको हो। मृत हात्ती नर रहेको बताइएको छ।
घटना स्थलमा क्षेत्रीय प्रहरी कार्यालय, बुधबारे र जिल्ला वन कार्यालय, झापाका टोलीहरू पुगेका छन्। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला वन अधिकृत हिमाल पाठकका अनुसार चालु आर्थिक वर्षमा झापामा यसअघि पनि एक हात्ती मृत फेला परेको थियो। यसैगरी, यसै आर्थिक वर्षमा जिल्लामा चार व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु भइसकेको छ।
