निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दलहरूलाई निश्चित शुल्क तिरेर देशभरका मतदाताको विवरण प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकामा उल्लेखित प्रावधानअनुसार दलहरूले आवश्यकता अनुसार मतदाता नामावलीको विद्युतीय प्रतिलिपि लिन पाउने भएका हुन् ।
निर्देशिकाअनुसार, कुनै राजनीतिक दलले आफ्नो औपचारिक पत्र पेश गरी देशभरको मतदाता नामावलीको विद्युतीय प्रतिलिपि लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । आयोगले उपलब्ध गराउने उक्त विवरणमा मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील सूचना समावेश गरिने छैनन् । यस्तो डाटा आयोगले हार्डड्राइभ वा पेनड्राइभमार्फत हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।
यदि दलले देशभरको सट्टा कुनै एक प्रदेशको मतदाता विवरण मात्र आवश्यक परेमा ५ हजार रुपैयाँ शुल्क लाग्नेछ । यसैगरी निर्वाचन अधिकृतहरूले मतदाता, राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई मतदाता नामावली हेर्न दिने वा आफ्नै खर्चमा प्रतिलिपि बनाउने सुविधा उपलब्ध गराउनुपर्नेछ ।
निर्देशिकामा फोटोसहितको मतदाता नामावली भने सम्बन्धित मतदाताले मात्र हेर्न पाउने व्यवस्था गरिएको छ । फोटोबिनाको मतदाता नामावली भने जोसुकैले निरीक्षण गर्न सक्ने प्रावधान छ ।
यस्तै, कुनै व्यक्तिले आफ्नो व्यक्तिगत मतदाता विवरणको प्रतिलिपि मात्र चाहेको अवस्थामा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सोही मतदातासम्बन्धी विवरण मात्र समावेश भएको प्रतिलिपि उपलब्ध गराउनेछ ।
जिल्लाभर वा कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावली आवश्यक परेमा ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । तर, यसरी उपलब्ध गराइने मतदाता नामावलीमा पनि मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकता नम्बरजस्ता विवरणहरू समावेश गरिने छैनन् ।
