काठमाडौँ । एनआईसी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखी प्रदान गरिने ‘गोल्ड लोन (नियमित)’ कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकहरूको बदलिँदो आवश्यकता र बजारको मागलाई सम्बोधन गर्ने उद्देश्यले बैंकले यो नयाँ कर्जा योजना ल्याएको हो।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढिरहेको बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। सुनको बार तथा सुनका गरगहनालाई धितो राखी औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सहित प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ।
बैंकले धितोको रूपमा राखिएको सुनको बजार मूल्यको अधिकतम ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रदान गर्ने जनाएको छ। यस कर्जा योजनामार्फत सुनका गरगहना खरिदका लागि समेत कर्जा सुविधा उपलब्ध हुने बैंकले जानकारी दिएको छ।
उक्त ‘गोल्ड लोन’ योजना बैंकका तोकिएका विभिन्न शाखामार्फत लिन सकिनेछ। साथै, ग्राहकहरूलाई सहज र प्रभावकारी कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले एकद्वार प्रणाली अन्तर्गत ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको छ। यस केन्द्रमार्फत कर्जासम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाहरूलाई समयमै समाधान गरिने बैंकको भनाइ छ।
