काठमाडौँ । नेपाली युवा उद्यमी मोहन तामाङद्वारा स्थापना गरिएको स्टार्टअप Mach24 Orbitals ले नेपालमा पहिलो हाइब्रिड रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी सुरु गरेको छ। मोहन तामाङलाई हालै अष्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रममा Emerging Space Leader को रूपमा सम्मानित गरिएको थियो।
Mach24 Orbitals ले आफ्नो रकेट प्राविधिक क्षमताको परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) सँग सहकार्य गर्दै ३० भन्दा बढी हाइब्रिड रकेट इञ्जिन परीक्षण गरिसकेको छ। यस प्रक्षेपण परियोजनाले नेपालको अन्तरिक्ष प्राविधिक क्षेत्रमा नयाँ माइलस्टोन तय गर्ने विश्वास गरिएको छ।
स्टार्टअपका अनुसार, यो पहिलो हाइब्रिड रकेटले नेपालको अन्तरिक्ष रकेट निर्माण र प्रक्षेपणको क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्नेछ। आगामी महिनामा प्रक्षेपणको मिति सार्वजनिक गरिने बताइएको छ।
यस पहलसँगै नेपालमा अन्तरिक्ष प्रविधि र स्टार्टअप उद्यमशीलता क्षेत्रमा नयाँ प्रेरणा थपिएको छ। Mach24 Orbitals ले आगामी दिनमा थप नवप्रवर्तन र प्राविधिक उपलब्धिहरू ल्याउने योजना बनाइरहेको छ।
