संस्थापक सेयरमा नयाँ अवसर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीका दुई जना संस्थापक सेयरधनीले आफ्ना नाममा रहेको क्रमशः ५५ हजार र १ लाख ८०० कित्ता सेयर बिक्री गर्ने निवेदन दिएपछि यो प्रक्रिया अघि बढाइएको हो।

कम्पनीले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाअनुसार उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता हालका संस्थापक सेयरधनीहरूलाई दिइनेछ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा निवेदन पेश गर्नुपर्नेछ।

सेयर खरिद गर्न चाहनेले नेपाल बीमा प्राधिकरणले तोकेको ‘फिट एन्ड प्राेपर टेस्ट’ का मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा मात्र प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।