सामाजिक सञ्जालको प्रभाव बढेसँगै नेपाली राजनीतिमा क्षणिक लोकप्रियता, ट्रेन्ड र भाइरल कन्टेन्टलाई आधार मानेर राजनीतिक निर्णय लिने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यस्तो परिवेशमा निर्वाचनजस्तो गम्भीर र दीर्घकालीन असर पार्ने प्रक्रियामा आवेग, भावनात्मक उत्तेजना र क्षणिक लोकप्रियताले मार्गनिर्देशन गर्नु लोकतान्त्रिक मूल्य र संस्थागत स्थायित्वका लागि चुनौतीपूर्ण बन्दै गएको छ।
हालको समयमा सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा क्षणिक लोकप्रियता (भाइरल हुने प्रवृत्ति) लाई आधार मानेर निर्वाचन मा उठि हाल्ने प्रवृत्ति देखिनु अत्यन्त दुखद छ। गम्भीर र दीर्घकालीन प्रभाव पार्ने विषयहरू हुन्छन त्यसलाइ हलुका रुपमा लिइ हतारो निर्णय गर्नु उचित होइन्। राज्य सञ्चालनजस्तो अत्यन्त संवेदनशील, जिम्मेवार र राष्ट्रको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषयमा आम मानिस मा यस्तो हल्का र आवेगपूर्ण सोच को विकास हुनु पक्कै पनि उपयुक्त होइन। निर्वाचन कुनै प्रयोगशाला होइन जहाँ असफलताबाट पाठ सिक्ने बहानामा देशलाई जोखिममा हाल्न सकियोस्।
‘ताप्केबाट भुङ्ग्रोमा हाम फाल्ने’ निर्णयले क्षणिक उत्साह त दिन सक्छ, तर त्यसको दीर्घकालीन परिणामले राज्यका संरचना, लोकतान्त्रिक मूल्य, सुशासन र नागरिकको विश्वासमा गम्भीर क्षति पुर्याउन सक्छ। नेपालजस्तो बहुजातीय, बहुभाषिक र संक्रमणशील लोकतान्त्रिक संरचना भएको देशमा विवेकपूर्ण छनोट अझै महत्वपूर्ण हुन्छ। उम्मेदवार वा राजनीतिक शक्तिको मूल्याङ्कन गर्दा लोकप्रिय नाराभन्दा बढी, उनीहरूको दृष्टिकोण, अनुभव, नीतिगत स्पष्टता, नैतिकता र संस्थागत स्थायित्वप्रतिको प्रतिबद्धतालाई आधार बनाइनुपर्छ।
लोकतन्त्रको सुदृढीकरण जिम्मेवार नागरिक चेतनाबाट सुरु हुन्छ। त्यसैले आवेग, आक्रोश वा क्षणिक ट्रेन्डको पछि लागेर होइन, तथ्य, विवेक र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिनु आजको आवश्यकता हो। विवेकपूर्ण छनोट नै समुन्नत, स्थिर र समावेशी नेपालको आधार हो।
फेरि केही समयअघि सम्म निर्वाचन को म्यान्डेट पाएका नागरिक सरकारको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरू, केही क्षणमै पद त्यागेर पुनः कुनै राजनीतिक दलमा आबद्ध भई निर्वाचन लड्न मैदान मा उत्रनु कस्तो राजनीतिक नैतिकता हो ? लाज लाग्दैन ? त्यसैगरी, भदौ २४ मा देशभर देखिएको अराजकता, आगजनी र हिंसात्मक गतिविधिले अर्को गम्भीर प्रश्न खडा गरेको छ : देश कसले जलायो ? यो आकस्मिक घटना थियो, कि योजनाबद्ध अस्थिरता सिर्जना गर्ने प्रयास ? याद गरौं संस्थागत परिवर्तन भनेको राता रात हुने कुरा होइन यो एउटा प्रकृया हो र जुनसुकै प्रकृया पनि पुरा हुन समय लाग्छ।
बुझौं शासन एउटा प्रक्रिया हो, यो एउटा सामूहिक प्रयास हो जहाँ सबै स्तर बाट सानो सानो/महत्वपूर्ण भूमिका को आवश्यक पर्छ। कुनै एकल व्यक्ति ले सबै कुरा ठीक गर्दैन र सक्दैन पनि। त्यसैले फोकस प्रक्रियामा र संस्थागत सबलिकरण मा हुनुपर्छ, व्यक्तिहरूमा होइन।
राजनीतिक परिपक्वता भनेको आवेग होइन, दीर्घकालीन सोच हो। क्षणिक लोकप्रियताभन्दा माथि उठेर संस्थागत मजबुती, सुशासन र लोकतान्त्रिक मूल्यलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्नु नै आजको प्रमुख आवश्यकता हो। विवेक, तथ्य र राष्ट्रिय हितमा आधारित छनोटबाट मात्र स्थिर, समुन्नत र भरोसायोग्य नेपालको आधार तयार हुन सक्छ।
