सुपर खुदीको आईपीओमा आवेदन गर्ने अन्तिम मौका

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता शेयर यसअघि नै बाँडफाँड भइसकेको छ।

बाँकी रहेको शेयरमध्ये ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी १२ लाख ८६ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालिरहेको छ। यसैगरी, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित ल्याइएको यो आईपीओमा आवेदन दिने आज अन्तिम अवसर भएकाले इच्छुक लगानीकर्ताले समयमै आवेदन दिनुपर्ने देखिन्छ।

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार