काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (IPO) निष्कासन र बिक्री खुला गरेको छ। कम्पनीले कुल ७५ लाख कित्तामध्ये ४५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ भने २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।
पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। कम्पनीले प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपैयाँ तोकेको छ।
लगानीकर्ताले फागुन १५ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने निश्चित व्यवस्था गरिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले पाल्पा सिमेन्टलाई ‘आईआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ। बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत वा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
