एशियन पेन्ट्स नेपालको कारोबारमा २६% उछाल

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । नेपालको रङ बजारमा स्थापित व्यावसायिक नाम एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडले आर्थिक मन्दीको प्रभावलाई पार गर्दै सन् २०२५ मा आफ्नो व्यापारमा उत्साहजनक सुधार देखाएको छ।

इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले सन् २०२५ मा ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो वर्ष सन् २०२४ को ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँको तुलनामा करिब २६ प्रतिशतले बढी हो। सन् २०२४ मा कम्पनीको कारोबार ४० प्रतिशतले घटेको थियो।

यसअघि सन् २०२३ मा ७ अर्ब ८० करोड ७० लाख र सन् २०२२ मा ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२५ मा बलियो पुनरुत्थान देखाएको हो।

नाफा र वित्तीय सूचकमा सुधार

सन् २०२४ मा ९.१ प्रतिशतमा सीमित रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर १४.२ प्रतिशत पुगेको छ। ब्याज तिर्ने क्षमता पनि उल्लेख्य रूपमा सुधारिएको छ—१४.१ गुणाबाट बढेर ३४.५ गुणा पुगेको छ।

कम्पनीको ‘डेब्ट सर्भिस कभरेज रेसियो’ ४१.७ गुणा पुगेको छ, जसमा गैर–सञ्चालन आम्दानीको समेत योगदान रहेको छ।

बलियो वित्तीय आधार

सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको कुल नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जसमा ९९ प्रतिशत हिस्सा सञ्चित नाफाको रहेको छ। कम्पनी ‘निल गेयरिङ’ अर्थात् शून्य ऋणको अवस्थामा रहेको छ।

कम्पनीसँग ५ अर्ब २० करोड रुपैयाँ बराबरको नगद मौज्दात तथा मुद्दती निक्षेप रहेको छ, जुन कुल नेटवर्थको ७१ प्रतिशत हो। चालू अनुपात ४.४ गुणा रहेको छ, जसले बलियो तरलता अवस्थालाई संकेत गर्छ।

कार्यशील पूँजी व्यवस्थापनमा सुधार

उधारो असुली अवधि सन् २०२४ को १६० दिनबाट घटेर सन् २०२५ मा ८१ दिनमा झरेको छ। यससँगै कार्यशील पूँजीको तीव्रता २७ प्रतिशतबाट घटेर १८ प्रतिशतमा सीमित भएको छ।

यद्यपि, कुल उधारोमध्ये ११ प्रतिशत रकम ३६५ दिनभन्दा बढी पुरानो हुनु र ४८ प्रतिशत उधारो ९० दिनभन्दा बढीको हुनु केही चुनौतीका रूपमा रहेको छ।

उत्पादन र विस्तार योजना

हेटौंडा औद्योगिक क्षेत्रमा वार्षिक १ लाख १ हजार ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योगमा एशियन पेन्ट्स इण्डियाको ५३ प्रतिशत र रवि एसोसिएट्स इण्डियाको ९ प्रतिशत शेयर लगानी रहेको छ। कम्पनीले ४४ भन्दा बढी ब्रान्ड अन्तर्गत रङ उत्पादन गर्दै आएको छ भने सन् २०२२ देखि बाथरुम फिटिङ्सको एसेम्बली पनि सुरु गरेको छ।

कम्पनीको सुदृढ वित्तीय अवस्थालाई ध्यानमा राख्दै इक्रा नेपालले १ अर्ब ५० करोड रुपैयाँको अल्पकालीन ऋण सीमाका लागि ‘एवान प्लस’ रेटिङलाई निरन्तरता दिएको छ।

कम्पनीले इमल्सन पेन्ट्सका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न नयाँ प्लान्ट स्थापना गर्ने योजना अघि सारेको छ। यसबाट भविष्यमा तरलतामा केही दबाब पर्न सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतारचढाव, अमेरिकी डलरको विनिमय दर जोखिम र बढ्दो प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। नयाँ कम्पनीहरूको प्रवेशसँगै बजार प्रतिस्पर्धा तीव्र बन्दै जाँदा नाफाको मार्जिनमा दबाब पर्न सक्ने देखिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार