काठमाडौँ लगायत देशका विभिन्न भू–भागमा रङ्गबाट रङ्ग मंगिएकाहरु आराम गरिरहेका होलान् । अझ भनौँ, नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो रङ्ग अनि उमङ्ग साटासाट गरिसके । अब पालो तराईको, अझ भनौँ मधेशको ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा सुन्दर भू–भागहरू छन् । ठुला–ठुला घरदेखि स–साना झुपडीसम्म, स्फूर्ति फलेका खेतदेखि धानका बालासम्म अनि विभिन्न भाषा अनि संस्कृतिबिच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जाऊ माटोले सिञ्चित यो भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरूको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ ।
जोगिरा सररररर…..
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो ….
के बोलो सारारारारारारारारारारारा
जोगीरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराई बासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्छन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्छ ।
ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ, तथापि जोगीरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ ।
तराई होलिको दिन आज सरकारद्धारा सार्वजनिक विदा दिइएको छ ।
