निर्वाचनअघि नेप्सेमा हरियाली, बजार पाँच दिन बन्द

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा शेयर बजारमा उत्साह देखिएको छ। फागुन १९ गते मंगलबार खुलेको बजार अब पाँच दिनपछि मात्र खुल्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले फागुन २० देखि २४ गतेसम्म सार्वजनिक बिदा घोषणा गरेसँगै शेयर कारोबार पनि फागुन २५ गते सोमबारबाट मात्रै पुनः सञ्चालन हुने भएको हो।

निर्वाचनको सरगर्मीबीच यो साता शेयर बजार केवल दुई दिन मात्र सञ्चालनमा आएको थियो। निर्वाचनअघिको अन्तिम कारोबार दिन मंगलबार नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर उकालो लागेको बजारले मंगलबार पनि सोही लय कायम राख्दै सुखद अन्त्य गरेको हो।

मंगलबार नेप्से परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २७१२ दशमलव ४९ विन्दुमा पुगेको छ। लगातारको वृद्धिले लगानीकर्ताहरू निर्वाचनपछिको बजारप्रति आशावादी रहेको संकेत गरेको छ।

निर्वाचनपछि मुलुकमा स्थिर सरकार गठन हुने र त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षामा लगानीकर्ता ढुक्क देखिएका छन्। राजनीतिक स्थायित्व कायम भए बजारले अझ नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ।

विश्लेषकहरूका अनुसार हाल बजारले नीतिगत सुधारभन्दा पनि राजनीतिक स्थिरतालाई प्राथमिकता दिएको देखिन्छ। नीतिगत तहमा सुधारका प्रयास भए तापनि राजनीतिक अस्थिरताका कारण बजारले अपेक्षित गति लिन सकेको थिएन। मंगलबारको उल्लेखनीय वृद्धिले भने आगामी दिनमा बजार अझ मजबुत बन्ने संकेत दिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार