कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा देखिन थालेको छ । अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा सक्रिय रहेको प्रतिष्ठानमा अहिले भारतसहित नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीहरू चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका छन्।
अहिले प्रतिष्ठानमा भारतका ५ जना विद्यार्थी सहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाबाट १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जुम्लाको खलाङ्गा बजारस्थित जुम्लाको खलाङ्गा बजारस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।
धनुषा, धरान, कैलाली, तनहुँ, प्युठान, नवलपरासी, धादिङ, कालीकोट, कञ्चनपुर, दैलेख, मोरङ, लमजुङ, पोखरा, रुपन्देही, रौतहट, बाँके, बैतडी, सुर्खेत, महोत्तरी, अर्घाखाँची, रुकुम पश्चिम, चितवन, सिराहा, बारा, मुस्ताङ, बझाङ, कपिलवस्तु, दाङ, म्याग्दी लगायत जिल्लाबाट आएका विद्यार्थीलाई मंगलबार स्वागत तथा अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक रूपमा स्वागत गरिएको छ ।
जसअनुसार एमबीबीएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बीएनएसतर्फ २० जना, बीपीएचतर्फ २० जना, बीएससी नर्सिङतर्फ २० जना र बी–फार्मातर्फ २० जना विद्यार्थी अध्ययन गर्न जुम्ला पुगेका छन् ।
उनका अनुसार मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा प्रतिष्ठानका विद्यार्थीहरूले शतप्रतिशत सफलता हासिल गरेपछि प्रतिष्ठानप्रति विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएको छ । सीमित स्रोत–साधन र राज्यको अपेक्षाकृत कम ध्यानका बाबजुद जुम्ला चिकित्सा शिक्षा अध्ययनको रोजाइ बन्नु गौरवको विषय भएको उनले बताए ।
वर्षेनी विद्यार्थी संख्या बढ्दै जानुले जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले देशभरबाट आएका विद्यार्थीलाई स्वागत गर्दै कर्णालीलाई विश्वास गरेर अध्ययनको गन्तव्य बनाउनु प्रतिष्ठानका लागि गर्वको विषय भएको बताए । संघीय राजधानी काठमाडौंजस्ता सुविधा सम्पन्न विश्वविद्यालय छोडेर जुम्ला रोज्नुले प्रतिष्ठानलाई थप जिम्मेवार बनाएको उनले बताए। उनले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई देशकै अब्बल जनशक्तिका रूपमा तयार पार्ने प्रतिबद्धता व्यक्त गरे ।
‘जुम्लामा राम्रो बाटो छैन, निकै दुर्गम छ भन्ने धेरैले भनेका थिए । तर यहाँ आएपछि त्यो भ्रम मात्रै रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र होइन, भाषा, साहित्य, संस्कृति, जडीबुटी र प्राकृतिक सुन्दरताको अध्ययन गर्ने राम्रो थलो पनि रहेछ।’
विद्यार्थीहरूले अब ढुक्कका साथ अध्ययन पूरा गरेर दक्ष चिकित्सक बनेर फर्किने विश्वास व्यक्त गरेका छन् ।