सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिकता दिँदै शेयर बिक्री खुला गर्न लागेको हो।

कम्पनीले कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये स्थानीय बासिन्दाका लागि २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

यो शेयर मुख्य रूपमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुंगल नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि लक्षित गरिएको छ। स्थानीयतर्फ विनियोजन गरिएको शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता बुंगल नगरपालिकाका अति प्रभावित वडा नम्बर १, २ र ४ का बासिन्दालाई वितरण गरिनेछ।

त्यसैगरी बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता शेयर बुंगल नगरपालिकाका अन्य वडाहरू ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूका लागि छुट्याइएको छ।

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि ५ लाख ७० हजार कित्ता शेयर सुरक्षित गरिएको छ, जुन सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत हुन आउँछ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ भने स्थानीय बासिन्दाका लागि भने चैत २२ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ।