काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति अडिग रहेर आफ्नै पारिश्रमिक नलिई आफ्नै गाडीबाट काम गर्दै आएको अनुभव साझा गर्दै सुदन गुरुङले केही आलोचनाप्रति आफ्नो स्पष्ट प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, “मेरो घाइते भाइबहिनीहरूको घाउमा मलम लगाउन आफ्नो पारिश्रमिक खर्च गर्छु भनेकोमा केही ‘POPULIST’ साथीहरूलाई छटपटी भएको छ। सायद उहाँहरूमा निस्वार्थ सेवा गर्ने संस्कारको कमी हुँदा अरूले गर्दा विश्वास नलाग्नु स्वाभाविक हो।”
सुदनले स्पष्ट पारेका छन् कि विगत १० वर्षदेखि राज्यको कुनै सुविधा नलिई आफ्नै पौरख र व्यवसायबाट समाजप्रति उत्तरदायित्व निभाउँदै आएको युवा हुँ। उनले अभावमा रहेकालाई काँध थाप्ने संस्कारमा हुर्किएको र यो व्यक्तिगत इच्छा र विवेकपूर्ण निर्णय भएको बताए।
सुदनले भनेका छन्, “हिजो पनि जनताकै लागि उभिएको थिएँ, आज पनि त्यही बाटोमा छु र भोलि पनि रहनेछु। मेरो कर्मको कदर समयले गर्ला, तर सस्तो आलोचनाले मेरो संकल्प कदापि डगमगाउँदैन।”
उनको यो प्रतिबद्धता र समाजसेवी दृष्टिकोणले युवा नेतृत्व र निस्वार्थ सेवा गर्ने संस्कारको उदाहरण प्रस्तुत गरेको छ।
