काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आगामी चैत २६ गतेदेखि सर्वसाधारणका लागि दोस्रो चरणको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो।
दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याउनेछ। लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ८० हजार २०० कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्कासन प्रक्रिया छिटोमा चैत ३० गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिने समय खुला रहनेछ।
कम्पनीले कुल ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको छ। सोही योजनाअनुसार आयोजना प्रभावित स्थानीयका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्टा सेयर यसअघि नै बाँडफाँट भइसकेको छ।
यसका साथै, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको सेयरसमेत वितरण भइसकेको कम्पनीले जनाएको छ।
