काठमाडौं । गरिमा विकास बैंक लिमिटेड को प्रवद्र्धन तथा गरिमा क्यापिटल लिमिटेड को निष्कासन तथा बिक्री व्यवस्थापनमा सञ्चालित “गरिमा म्युचुअल फण्ड” अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” को इकाई बाँडफाँट सम्पन्न भएको छ ।
प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि २०८२ फागुन २८ गतेदेखि चैत ११ गतेसम्म आवेदन खुला गरिएको थियो । सो अवधिमा बीज पूँजीसहित १ लाख ६ हजार ७९४ आवेदकबाट ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३ सय २० इकाईका लागि आवेदन परेको थियो, जुन मागभन्दा बढी हो ।
प्राप्त आवेदनमध्ये १ सय ७० आवेदकका ४१ हजार इकाईका आवेदन नियमअनुसार नभएकाले अस्वीकृत गरिएको छ । बाँकी १ लाख ६ हजार ६ सय २४ आवेदकबाट ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३ सय २० इकाईका लागि रीतपूर्वक आवेदन परेको थियो ।
यसैअनुसार चैत २२ गते कमलपोखरीस्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालयमा बसेको बैठकले योग्य सबै आवेदकलाई मागअनुसार नै इकाई बाँडफाँट गरेको हो ।
नेपाल धितोपत्र बोर्ड बाट १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्कासन गर्न स्वीकृति प्राप्त यस योजनामा पहिलो चरणमा सीमित ५ करोड इकाईका लागि आवेदन माग गरिए पनि पर्याप्त माग आएपछि सबै योग्य आवेदकलाई समेटेर वितरण गरिएको जनाइएको छ ।
खुलामुखी योजना भएकाले यसका इकाईहरू नेपाल स्टक एक्सचेञ्ज मार्फत किनबेच गर्न नमिल्नेछ । बाँडफाँट भएको मितिले तीन महिनापछि नियमित खरिद–बिक्री (सिप प्रणालीसमेत) सुरु गरिने जानकारी दिइएको छ ।
यस निष्कासन प्रक्रियामा सहयोग गर्ने सम्बन्धित निकाय, संस्था तथा सबै आवेदकप्रति कृतज्ञता व्यक्त गरिएको छ ।
