काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी आफ्नो सेवा अवधि पूरा गरी बिदा भएका छन्। ५८ वर्षे उमेर हदका कारण उनले बिहीबारदेखि अनिवार्य अवकाश पाएका हुन्।
वि.सं. २०५६ सालमा धितोपत्र बोर्डको सेवामा प्रवेश गरेका अधिकारीले करिब तीन वर्षअघि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। सेबोनको नियमावली अनुसार कार्यकारी निर्देशकको कार्यकाल ५ वर्षको हुने व्यवस्था भए पनि उमेर हदका कारण उनले पूरा कार्यकाल भने काम गर्न पाएनन्।
सेबोनको नेतृत्व सम्हाल्ने आकांक्षा राखेका अधिकारी अध्यक्ष छनोट प्रक्रियामा उत्कृष्ट तीनको सिफारिसमा समेत पर्न सफल भएका थिए। तर, तत्कालीन सरकारले २०८१ मंसिरमा सन्तोषनारायण श्रेष्ठ लाई अध्यक्ष पदमा नियुक्त गरेको थियो।
नियुक्तिको केही समयपछि नै अध्यक्ष श्रेष्ठले गत वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए। यसबीच, दीर्घकालीन योगदानको कदर गर्दै सेबोनका कर्मचारीहरूले एक कार्यक्रमका बीच अधिकारीलाई औपचारिक रूपमा बिदाइ गरेका छन्।
दीर्घ अनुभव र समर्पणका साथ काम गरेका अधिकारीको बिदाइसँगै सेबोनमा एक अनुभवी नेतृत्वको अध्याय समाप्त भएको छ।
