काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आगामी वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ भने अब दोस्रो चरणमा आम सर्वसाधारणलाई लगानीको अवसर दिन लागेको हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १२ लाख कित्ता स्थानीयवासीका लागि र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिले नै बाँडफाँट भइसकेको छ।
त्यसैगरी, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याएर वितरण कार्य सम्पन्न भइसकेको छ।
अब बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिनेछ, जसको कुल मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ हुन्छ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन प्रक्रिया छिटोमा वैशाख २८ गतेसम्म खुला रहनेछ भने पर्याप्त आवेदन नपरेमा जेठ ६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ।
