काठमाडौं । नेपाली पूँजी बजार यो साता उतारचढावसहितको समग्रमा सुस्त अवस्था देखिएको छ। नेप्से परिसूचक ले अघिल्लो साताको तुलनामा ४९.७ अंकले गिरावट भई २७८८.७ विन्दुमा पुगेर बन्द भएको छ।
साताको सुरुवातमा २८२५.२३ विन्दुमा रहेको नेप्से क्रमशः घट्दै अन्तिम कारोबार दिनसम्म आइपुग्दा दबाबमा रह्यो। यद्यपि, साताभर कुल कारोबार रकम २९ अर्ब ३८ करोड ८१ लाख ९ हजार रुपैयाँभन्दा बढी पुगेको छ, जसले बजारमा लगानीकर्ताको चासो अझै कायम रहेको देखाउँछ।
दैनिक औसत कारोबार करिब ५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। कारोबार उच्च भए पनि खरिदभन्दा बिक्री चाप बढी हुँदा बजारमा गिरावट देखिएको विश्लेषण गरिएको छ।
साताको कारोबार क्रमअनुसार सोमबार बजार २८२५.२३ विन्दुमा बन्द भएको थियो। मंगलबार २८०७.१२ विन्दुमा झर्यो भने बुधबार २८०४.१७ विन्दुमा सीमित रह्यो। बिहीबार २७८७.१५ विन्दुमा झरेको बजार शुक्रबार २७८८.७० विन्दुमा पुगेर बन्द भयो।
बुधबार साताकै उच्च कारोबार ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी भएको थियो, जसले ठूला लगानीकर्ताको सक्रियता देखाएको संकेत गर्दछ। कुल मिलाएर साताभर ६ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।
प्राविधिक विश्लेषण अनुसार बजार हाल कन्सोलिडेसन चरणमा रहेको देखिन्छ। २८५० विन्दु माथि बलियो प्रतिरोध कायम रहँदा गिरावट आएको भए पनि २७५० विन्दु माथि रहुन्जेल बजार सुरक्षित अवस्थामा रहेको मानिन्छ।
विश्लेषकहरूका अनुसार बजार अहिले न्युट्रल अवस्थामा रहेको छ। तर, आगामी दिनमा २८०० विन्दु माथि टिक्न सके बजार पुनः २९०० हुँदै ३००० विन्दुतर्फ जाने सम्भावना देखिन्छ।
