शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र नेपालका लागि चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज सोमबार भएको भेटमा मन्त्री सस्मित पोखरेल र राजदूत चाङ माओमिङबीच नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदका क्षेत्रमा चिनियाँ सहयोग र सहकार्यबारे छलफल भएको छ ।
छलफलमा विशेषगरी विद्यालय पूर्वाधार, अध्ययन अध्यापनमा डिजिटल प्रणालीलगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रका परियोजना छिटो सम्पन्न गर्न, नेपाली युवाको रुची अनुसारको छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएको बताइन्छ ।
राजदूत चाङले ती विषयमा चीन सरकार नेपाल सरकारसँग साझेदारी र सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै नेपाल–चीनबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यलाई थप मजबुत बनाइनेमा मन्त्री र राजदूत सहमत भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
