काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद रिक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा गठन गरिएको सिफारिस समितिले ७ दिनभित्र इच्छुक उम्मेदवारलाई बायोडाटा पेस गर्न आह्वान गरेको छ।
अध्यक्ष पदका लागि छिटो सिफारिस गर्ने उद्देश्यसहित ‘फास्ट ट्रयाक’ प्रक्रियामा काम अघि बढाइएको हो। यसअघि अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि सेबोन नेतृत्वविहीन बनेको थियो।
सरकारले वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन दाहाल सदस्य रहेका छन्।
निर्धारित मापदण्डअनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार, वित्तीय क्षेत्र, व्यवस्थापन, कानुन, अर्थशास्त्र, लेखा, वाणिज्य वा सार्वजनिक प्रशासनसम्बन्धी क्षेत्रमा पर्याप्त अनुभव हुनुपर्नेछ।
उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै फौजदारी मुद्दामा दोषी नठहरिएको, दामासाहीमा नपरेको तथा स्वार्थको द्वन्द्व नहुने व्यक्ति योग्य हुने समितिले जनाएको छ।
लामो समयदेखि नेतृत्वविहीन रहेको सेबोनमा नयाँ अध्यक्ष चयन भएपछि पुँजीबजार सुधार, रोकिएका नीतिगत निर्णय र नियामक कामकारबाहीमा गति आउने अपेक्षा गरिएको छ।
