एभरेष्ट कलर आईपीओ खुला

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजीको निश्चित हिस्सा विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याउँदै आजदेखि आवेदन प्रक्रिया सुरु गरेको हो।

कम्पनीले कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुसार कुल शेयरको १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिने अवधि वैशाख २२ गतेसम्म रहनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि लम्ब्याई वैशाख ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।