प्रधानन्यायाधीशको सिफारिसबारे छलफल-संवैधानिक परिषद्को बैठक आज बस्दै

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (बिहीबार)संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न ६ जनामध्ये चार जना सदस्य उपस्थित भए गणपूरक सङ्ख्या पुग्नेछ ।
त्यस्तै, परिषद्ले कुनै पनि निर्णय गर्दा तीन जना सदस्यको बहुमत भएमा निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता र प्रधानन्यायाधीश रहनेछन् ।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन् । त्यस्तै, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको रूपमा परिषद्मा सहभागी हुनेछिन् ।