सद्गुरुद्वारा रचना भएको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ नेपाली भाषामा सार्वजनिक

काठमाडौं, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा, सद्गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा विकसित गरिएको ‘मिराकल अफ माइन्ड’ (Miracle of Mind) एप काठमाडौंको बालुवाटारस्थित T21 प्यालेसमा आयोजित एक विशेष समारोहका बीच आधिकारिक रूपमा नेपाली भाषामा सार्वजनिक गरिएको छ।

उक्त कार्यक्रममा पूर्व कानुन मन्त्री माननीय अनिल सिन्हा, माननीय सांसद गङ्गा लक्ष्मी अवाल, पूर्व डिस्ट्रिक्ट गभर्नर जया राज्यलक्ष्मी शाह, यती एयरलाइन्सकी निर्देशक चन्दा शेर्पा, पर्यटन विज्ञ रानु शाह र सेन्टर फर सेक्युरिटी एन्ड जस्टिस सर्भिसका सचिव रविराज थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा एपको औपचारिक शुभारम्भ गरिनुका साथै उपस्थित सहभागीहरूलाई एपमार्फत निर्देशित ध्यान (Guided Meditation) समेत गराइएको थियो।

निर्देशित ध्यान सत्रपछि माननीय अनिल सिन्हाले आफ्नो अनुभव साझा गर्दै भन्नुभयो, “जेन जी (Gen Z) आन्दोलनको समयमा बाहिरको स्थिति निकै तनावपूर्ण र अस्तव्यस्त हुँदा पनि मिराकल अफ माइन्ड ध्यानले मलाई मानसिक तनाव कम गर्न ठूलो सहयोग पुर्‍यायो।” त्यसैगरी, माननीय गङ्गा लक्ष्मी अवालले आफू नियमित रूपमा यो ध्यान अभ्यास गरिरहेको र यसले संसद्को तनावपूर्ण वातावरणमा पनि आफूलाई शान्त रहन मद्दत पुर्‍याएको बताउनुभयो। उहाँले आफ्नो कार्यकक्षमा चिया ब्रेकको समयमा ७ मिनेट ‘ मिराकल अफ माइन्ड’ ध्यान गर्ने गरेको र यसले आफूलाई पुनः एकाग्र र संयमित बनाउन सहयोग गरेको अनुभव समेत सुनाउनुभयो।

‘मिराकल अफ माइन्ड’ आन्तरिक कल्याणका लागि सद्गुरुले रचना गर्नुभएको एउटा सजिलो र प्रभावकारी ध्यान एप हो। दिनको मात्र ७ मिनेट यो ध्यान गर्नाले मन एकाग्र हुने, तनाव कम हुने, निद्रा राम्रो लाग्ने र शरीरमा नयाँ ऊर्जा थपिनेछ। ध्यानका साथै यस एपमा सद्गुरुका ज्ञानवर्धक भिडियो, अडियो र प्रेरक भनाइहरू पनि समावेश गरिएका छन्। साथै, एपमा रहेको ‘रिमाइन्डर’ र ‘अलर्ट’ जस्ता सुविधाहरूले साधकहरूलाई दैनिक ध्यान गर्ने बानी बसाल्न थप मद्दत गर्नेछ ।