काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक २०८२ सालको एसईई नतिजाले शिक्षा क्षेत्रको गम्भीर चित्र देखाएको छ। यस वर्षको परीक्षामा सहभागी भएकामध्ये १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘एनजी’ (Non-Graded) श्रेणीमा परेका छन्, जसको अर्थ उनीहरू उत्तीर्ण हुन सकेनन्।
कूल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत मात्र उत्तीर्ण हुँदा बाँकी ३४.०२ प्रतिशत विद्यार्थीहरू अनुत्तीर्ण भएका हुन्। विशेष गरी तल्लो जीपीए प्राप्त गर्ने र एनजी श्रेणीमा पर्ने विद्यार्थीको संख्या उल्लेख्य रहनुले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ।
बोर्डको तथ्याङ्क अनुसार करिब ३४ प्रतिशत विद्यार्थीहरूले कुनै पनि ग्रेड प्राप्त गर्न नसक्दा उनीहरूको माथिल्लो तहको पढाइ तत्कालका लागि रोकिएको छ। सरकारले नतिजा सुधारका लागि विभिन्न प्रयास गरे पनि १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनुलाई शिक्षाविद्हरूले चिन्ताजनक मानेका छन्।
