आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि शानदार जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भएको अन्तिम सिरिजको सुखद अन्त्य गरेको छ।
आज शुक्रबार भएको सिरिजको अन्तिम खेलमा अमेरिकामाथि १ सय २२ रनको शानदार जित निकालेको हो। अमेरिकालाई पहिलो खेलमा ९ विकेटले हराएको थियो। नेपाल सिरिजको पहिलो खेलमा स्कल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो।
योसँगै नेपालले यो सिरिजबाट ६ अंक जोडेको छ। जितसँगै नेपाल २४ अंकमा पाचौँ स्थानमा यथावत छ। नेपालले लिग २ का २८ खेलमध्य ११ खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँड्दै २४ अंक बनाएको हो।
नेपालले अब लिग २ मा ८ खेल खेल्न बाँकी छ। ति सबै खेल नेपालले विदेशी भुमिमा खेल्नेछ।
घरेलु टोली नेपालले दिएको ३ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१।२ ओभरमा १ सय ९५रन बनाउँदा अलआउट भयो।
अमेरिकालाई कम स्कोरमा सन्दीप लामिछानेले ३ विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरि र गुल्सन झाले समान २ विकेट लिए। सोमपाल कामीको नाममा समान एक विकेट रह्यो। अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले बनाएको ५६ रन नै सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का हाने।
नोस्तुज केन्जिेकेले २९ र सयान जहानगिरले २७ रन थपे। सेहान जयासुरियाले २६ तथा कप्तान साइतेजा मुक्कमल्लाले २२ रन बनाए। मिलिन्द कुमारले १२ रन थप्दै आउट भए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रनको विशाल योगफल तयार पारेको थियो।
टीयू मैदानमा बनाएको नेपालले बनाएको यो अहिलेसम्मको सर्वाधिक योगफल हो। यसअघि नेपालले २०२३ मा घरेलु मैदानमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो। ओडीआईमा नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको विशाल योगफल बनाएको थियो। ओडीआईमा नेपालले बनाएको यो नै सर्वाधिक विशाल योगफल हो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए। ८३ बलमा ८ चौका र १ छक्का बनाएका पाण्डे शुभम रन्जानेको बलमा सेहान जयासुरियाको बलमा क्याच आउट हुन पुगे। तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले १ सय १० रनको साझेदारी गरे। ५९ बलमा २ चौका र १ छक्का होनका कप्तान पौडेल ३७.६ ओभरमा ४६ रन बनाउँदा मिलिन्द कुमारको बलमा एलबीडब्लु धरापमा परे।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १२।५ ओभरमा ६९ रनको साझेदारी गरे। ३९ बलमा ५ चौका सहयोगमा २९ रन बनाएका कुशल भुर्तेल शुभमको बलमा साइतेजा मुक्कमल्लाको हातबाट क्याच आउट भए। ५७ बलमा ६ चौका सहयोगमा ४३ रन बनाएका आशिफ शेख रुसिल उगारकरको बलमा स्मिथ पटेलको हातबाट आउट हुन पुगे।
१२ बलमा १ छक्का सहयोगमा १५ रन बनाएका गुल्सन झा शुभमको बलमा क्याच आउट भए। दीपेन्द्र सिंह ऐरि ५९ रन थप्दै पेभेलियन फर्के। ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका दीपेन्द्र रनआउट भए। सोमपाल कामी ५ रनमा रनआउट भए।
अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए। रुसिल उगारकर र मिलिन्द कुमारले समान एक विकेट लिए।
