रामेछाप बजारमा व्यवस्थित सडक बन्दै

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा अब व्यवस्थित सडक बन्ने भएको छ ।

२०८ वर्ष भन्दा लामो समय सदरमुकाम बसको रामेछाप बजार हुँदै सेलेघाट– सालु– साँघुटार सडक निर्माणको कामले गति लिएपछि रामेछाप बजारमा व्यवस्थित सडक बन्न लागेको हो ।

सो सडकको बजार क्षेत्रमा जग्गा विवादको कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । रामेछाप बजारमा सडक क्षेत्रका परेका घरहरूले मुआब्जा लिएको लामो समय बित्दा पनि घर भत्काउन मानेका थिएनन् । तर अहिले मुआब्जा लिएका घर भत्काएर बजार क्षेत्रमा सडक चौडा गर्ने काम अघि बढेको छ ।

बजार क्षेत्रमा रहेको पुरानो सडक साँघुरो भएको कारण सडक विस्तार गर्नु परेको हो । अहिले रामेछाप बजारमा सडक चौडा पार्ने, पर्खालहरू उठाउने तथा नाला बनाउने काम भइरहेको छ । सडक चौडा बनाएर पिच गरे पछि रामेछाप बजार नयाँ स्वरूपमा देखिने विश्वास लिइएको छ ।

२०४५ सालसम्म रामेछापको जिल्ला सदरमुकाम रहेको रामेछाप बजारमा सदरमुकाम मन्थली सरेपछि चहलपहल घटेको छ । व्यवस्थित सडक र बजार बनेपछि चाप बढ्ने विश्वास पनि लिइएको छ ।