विदाको बेला गाउँमा घुम्न जाम

‘यो देश एउटा लागूपदार्थ हो।’

झट्ट सम्झन्छु, राजु झल्लु प्रसादले लेखेको यो कविता। कविताले भन्छ– देशभित्र हेर्नुपर्ने, बुझ्नुपर्ने, अलमलिने, बिसाउने यति धेरै ठाउँ, विषय र पात्र परिवेश छन् कि कसैलाई कुँजिएर बस्ने छुट छैन। त्यसैले आफ्ना साथीसँगीलाई उनी झोला टिपेर हिँडिहाल्न आग्रह गर्छन्।

राजुले जिस्क्याएझैँ लाग्यो, कति कोचिएर बस्न सक्या हो दाइ यस खाल्डोमा? ‘ब्याकप्याक’ मा थोरै सामान खाँदेर म पनि निस्केँ गुँडबाट। विकासे कामका सिलसिलामा झन्डै ६४ जिल्ला घुमेको रहेछु, तर त्यसपछि झन्डै एक दशक उनै पुराना ठाउँमा पुनरावृत्ति भइरह्यो, नयाँ जिल्ला थपिएनछ। आफैँसँग चित्त दुख्यो। केले रोक्यो मलाई नयाँ ठाउँ पुग्नरु

चितवनमा जन्मेको म, बस्छु काठमाडौँ, पोखरा आउजाउ गरिरहन्छु। तर, नजिकैको गोरखा जिल्लासमेत टेकेको थिइनँ। पोखरा जाँदा सुन्तलालगायत खत्र्याकखुत्रुक सामान किन्न आँबुखैरेनीमा रोकिँदा गोरखाको जमिन त छोइयो। तर, त्यसरी त पुग्दैन ६५ जिल्ला। कुनै जिल्ला पुग्नु भनेको त्यहाँको सदरमुकाम पुग्नु अनिवार्य लाग्छ मलाई। अनि आसपासको जनजीवन पनि केही नियाल्न सके अझ राम्रो।

यही सोचले गत आइतबार गोर्खातिर हानिएँ म। सदरमुकाम ताकेर हिँडेको हामी चढेको माइक्रो आँबुखैरेनीबाट पृथ्वी राजमार्गलाई बायाँ पार्दै मोडियो।

अघिसम्म गाडीमा पढिरहेको होजे सारामागोको उपन्यास ब्लाइन्डनेस झोलाभित्र थन्क्याइसकेको थिएँ। मलाई अब किताबका पानामा सीमित रहनु थिएन। निदा फाजलीले कानैमा साउती मारेझैँ लाग्यो– धूपमें निक्लो घटाओंमे नहाकर देखोरजिन्दगी क्या है किताबोंको हटाकर देखो। मैले नछिचोलेको भूगोल थियो मेरो सामुन्ने। उत्सुक थिएँ वरिपरको भूपरिदृश्य नियाल्न।

आँबुखैरेनीबाट चढेकी शान्ता श्रेष्ठ मेरो छेउमा थिइन्। तीनदिने शिक्षक तालिमका लागि सदरमुकाम जाँदै थिइन्। १० बज्न लागेकाले थोरै चिन्तित देखिन्थिन्, पुग्ने हतारोले। नेपाली शिक्षक हुँ, तर साना भुराभुरीलाई सबै विषय पढाउनुपर्छ, उनको स्वीकारोक्ति थियो।

कुराकानीबाट केही स्थानीय जानकारी प्राप्त भयो। दायाँतर्फ औँल्याउँदै उनले चिनाइन्– गोरखकाली रबर उद्योग उ त्यही हो।

गाडी हुइँकिइरह्यो। १२ किलो पुग्यो र रोकियो केहीबेर। गुरु भाइ ओर्ले अनि नजिकैको धारामा गएर हातमुख धोए, हातको अँजुली बनाएर पानी पिए, घटघट। अनि एउटा शिखर चुरोट सल्काएर बडो आनन्दले तान्न थाले। चुरोटको धुवाँले सम्झायो कथाकार मन्टोलाई।

यस्तै सिगरेटको कसले मन्टोको दिमागमा कथाका अनेक भ्रूण तयार पार्थे। पछाडिपट्टि लहरै बसहरू राखिएका थिए, बारपाक जाने गाडी रहेछन्। गाडीको अग्रभागमा बारपाक गन्तव्य देखेपछि एकाएक मेरो योजना बदलियो। सोचेँ– १२ किमीमाथिको सदरमुकाम फर्कंदा जाउँला। अनि झोला टिपेर चढेँ बारपाक जाने बसमा।

छेउमा थिए बलबहादुर घले। चितवनबाट उपचार गरेर फर्केका। गण्डकी, धौलागिरीका धेरै जिल्लाबाट जस्तै गोर्खाका पनि उल्लेख्य मानिस चितवन बसाइँ गएका छन्। उताका हरेक नयाँ बस्तीमा गोर्खाली भेटिन्छन्। गोर्खालीहरूकै स्थानीय गाउँठाउँका नाममा चितवनतिर थुप्रै टोलको नामकरण गरिएको छ।

वीरबहादुर काका जस्तै बसाइँ नगएकाहरू पनि चितवनसँग जोडिएका छन्स शिक्षा, स्वास्थ्य, व्यापार वा अन्य सन्दर्भले। अर्को छेउमा बसेका एक यात्रु फोनमा कसैलाई भन्दै थिए– छोरीले प्लस टु सकी, ब्याचलरको भर्ना गर्दिन हिँडेको चितवन।

कच्ची बाटो भए पनि साह्रो अप्ठेरो होइन। धेरैजसो घरमा फूलकै बार लगाएको देखियो। रिबन फूल, घण्टी फूल, के के मौसमी फूलहरू फुलेका थिए ठाउँ ठाउँमा। यात्राको एकघेमी अर्थात् ‘मोनोटोनी’ लाई घटाउने यस्तै माध्यम थिए त्यहाँ। नजिकै देखिन्थ्यो दरौँदी नदी, चुपचाप बगिरहेको।

दिउँसोको प्रचण्ड तापले जमिनबाट धुवाँ निक्लेझैँ लाग्थ्यो।

दरौँदीलाई देखाउँदै वीरबहादुर काका बोले– अघि तलतिर त सङ्लो थियो खोला, माथि लेकतिर पानी पर्‍यो पक्कै। धमिलो हुन थाल्यो पानी। पारिपट्टि देखिन्थे सल्लाको घना जंगल। खोलाको वारिपारिका फाँटबारीमा सप्रेका मकै देखिन्थे, जुँगा चमरा छोडिसकेका।

खुई काढ्दै काकाले थपे– सिरसम्पत्ति भाको भई झर्थ्यो होला यता व्यासीमा, दुई बाली धान लाइन्थ्यो होला। माथितिरको हाम्रो लेकमा त त्यही कोदो, फापर हो लाउने, यता जस्तो धान हुँदैन। मकै पनि असिना पानीले बिगार्‍यो हाम्रो त।


लेखक खनिया

भेडीगोठ छन् अहिले गाउँमारु मेरो प्रश्नमा उनको जवाफ– ठाउँ ठाउँमा थियो नि। मेरै थियो परारसम्म। ५०० चढ्थ्यो भेडाहरू। पछि जाहानले पनि छोड्यो। केटाकेटी बाहिर गयो। सकेन मैले एक्लै। विगत कोट्याउँदै उनी फेरि बोले, पहिले पाँच दिन लगाएर नुन पुर्‍याइन्थ्यो गाउँमा।

अहिले त बाटो बन्यो, धेरै कुरा सजिलो हुँदै आएको छ। राजनीति कति बुझेका छन् उनले, छोटो भेटमा थाहा लाग्ने कुरो भएन। तर, नयाँ सत्ताप्रति उनी आशावादी थिएनन्। उनको आरोप थियो, जनताको पैसा सबै पोको पार्नी रैछ यिनीहरू। खै कति टिक्लान्रु

बारपाक आउनु तीन स्टेसनअगाडि उत्रे वीरबहादुर काका। धेरैजसो यात्रु झरिसकेकोले बस खाली भइसकेको थियो, मात्र तीन जना थियौँ बारपाक बसपार्क पुग्दा। ल अब तपाईंहरूले दिएको पैसा सकियो।

यही हो अन्तिम। झर्नोस्। पैसा उठाउने गाडीको सहयोगीले ठट्टा गर्दे सुनाए।

अलि अघि फोनमा कसैलाई भन्दै थिए– पोल्यान्ड जाने तयारीमा छु, भिसा झर्छ होला, साउनसम्म। उनले बुझाएको दुई लाख रकमले उनको चाहना पूरा होलारनहोला सोचमग्न भएँ म। रास्वपाले सत्ता आरोहणको सिँढी बनाएको विषयमा एउटा थियो– वैदेशिक रोजगारमा गएकालाई फर्काउने र यतै सम्मानजनक आयआर्जनमा लगाउने।

के आमयुवालाई नयाँ सरकारप्रति पनि उस्तो अपेक्षा छैनरु किन उनीहरूका पाइलाहरू अडिन सकिरहेका छैनन् यता?

खाडी जाने लहर त उस्तै छ आज पनि। सँगसँगै बनेको छ युरोप नयाँ गन्तव्य। चार लाख माथि लाग्छ पोल्यान्ड, पोर्चुगल, रोमानिया, साइप्रस, माल्टा जानेहरूको लगानी। तर, यसरी भविष्य बनाउन उतै जान खोज्ने युवाहरू उल्लेख्य भेटिन्छन् अझै।

बसपार्कबाट सरासरी एउटा होटेलमा पुगेँ, काउन्टरमा थिए हेम सुक गुरुङ। चाउमिन मगाएँ र चिया पिएँ। उदरपूर्तिपछि बारपाक अवलोकन गर्ने मनसायले निस्किन खोज्दै थिएँ। बसबाट सँगै झरेकी एक महिला पनि त्यही होटलमा छिरिन्। सँगै आएको हैन हामीरु उनले सहमतिमा मुन्टो तलमाथि गरिन्। अब भने बारपाकका परिवेश नियाल्न निस्केँ म। अलिक माथि रहेछ खुम्चे गुम्बा। गुम्बाभित्र भेटिए लामा डम्बरबहादुर घले। भित्र छिरेर सामान्य अवलोकन गरेर माथिल्लो तलामा पुगेँ। बारपाकको अधिकांश दृश्य समेटिने रै’छ त्यहाँबाट। निला जस्तापाताका नयाँ घरहरू ठडिएका रहेछन् यहाँ। इट्टारङका छाना भएका पक्की घरहरू पनि छन् केही। एउटै बस्तीमा दुई हैसियतको जीवन टड्कारो देखिन्थ्यो।

यहाँहरूलाई थाहै छ, एक दशकपहिलेको भूकम्पको विनाश। बारपाक त झन् केन्द्रबिन्दु नै भएकाले यहाँका पुराना घर सबै माटोमा मिसिए। भूकम्प जानुअघि यहाँ नआएकाले पुराना बस्ती आफैँले देखिएन, तर आर्काइभमा रहेका फोटोमा बस्तीको ढाँचा र घरहरूको अवस्थिति आकर्षक देखिन्थ्यो। अहिलेका घरबस्ती त्यति व्यवस्थित बन्न सकेका छैनन्। कलात्मकता पनि छैन ।

बारपाक बसपार्कमाथिको एउटा पाटीमा एक हुल वृद्ध सुस्ताइरहेको देखेँ। हुलमा मिसिएँ म पनि। कोही चुरोट तान्दै थिएँ, कोही थोते दाँत देखाउँदै खितखित हाँस्दै थिए त कोही झोक्राएर बसिरहेका थिए। एकदुई जना भर्खर आउँदै थिए, बाँसको लट्ठी टेक्दै। अधिकांश भूपू सैनिक रहेछन्स तीमध्ये भारतीय सैनिक सेवाबाट निवृत्त हुनेको बाहुल्य थियो भने कोही भूपू बेलायती सैनिक पनि थिए।

दिउँसो चियाखाजा खाएर नियमित त्यही पाटीमा आउने गर्दा रहेछन्। समय कटनीको मेलो हो, केही गर्न सकिन्न भन्दै थिए एक वृद्ध। सोचेँ एकछिन, पट्यारलाग्दो त छ पक्कै यो बुढेसकाल। कतिका त श्रीमती बितिसकेछन्। तर, घरमा जजसका श्रीमती छन् नि, उनीहरू कसरी समय काट्दै होलान्रु नातिनातिनालाई सम्हाल्दै, घरमा काम सघाउँदै वा पिँढीमा बसेर निस्संग खोक्दैरु

भ्युटावर निर्माण पछिल्लो एक दशकको विकृत भाष्य बन्यो हामीकहाँ। धेरैजसो कलात्मकताविना, अडभंगे पाराले। पैसाको नाश मात्र। बारपाकमा पनि नयाँ बस्ती तथा वरपरको दृश्य देख्नका लागि बनाइएको रहेछ भ्युटावर।

तर, थोरै उचाइबाट हेर्दा तलका झुरुप्प बस्तीहरू सहजै देखिन्छन्, यस अर्थमा पनि भ्युटावर असान्दर्भिक लाग्छ यहाँ। एउटा स्मृति भवन तथा अभिलेख सूचना केन्द्र छ गुम्बाको अलि तलपट्टि।

२०७२ सालको भूकम्पमा मारिएकाको अभिलेख राखिएको। घुम्दै थिएँ, बाटामा भेटिए स्थानीय शिक्षक बलबहादुर विक। बारपाकमा गुरुङहरूकै बाहुल्य छ, त्यसैले यहाँका गैरगुरुङ पनि मजाले गुरुङ भाषामै बोल्छन्, बलबहादुर सर पनि बाटामा भेटिएका गाउँलेसँग त्यसरी नै संवाद गर्दै थिए।

गोर्खा भीसी गजे घलेको गाउँ रहेछ बारपाक। बलबहादुर सरसँग घुम्दै थिएँ वरपर, फेरि अघि सँगै झरेकी महिलासँग भेट भयो। सर नमस्कार भन्दै बल बहादुर सरसँग कुरा गर्न थालिन्। बारपाक त विरूप भयो, भूकम्पपछि। विनाश त गरेकै थियो, पुनर्निर्माणका नाममा यहाँको स्थानीयता र मौलिकता सबै खोसे सरकारीरगैरसरकारी मान्छेले, उनीहरू एकसाथ भन्दै थिए।

बारपाक मात्र होइन, माथिको अर्को बस्ती लाप्राक पनि तहसनहस भएको थियो भूकम्पले। यो त मलाई थाहा थियो, किन त चर्चा बारपाकको मात्रैरु मैले सोधेँ। वीरबहादुर सर बोले– भूकम्पअघि यस्तो चर्चा थिएन यताको। पछि त यता मान्छेको ओइरो नै लाग्न थाल्यो। यहाँसम्म आउने, फोटो खिच्ने, जाने।

माथि चढ्ने दुःख किन गर्थेरु सरको भनाइले मलाई घोच्यो। दिमागमा एउटा शब्दावलीले वास गर्‍यो– डिजास्टर टुरिज्म अर्थात् विपद् पर्यटन। विनाशलीला अवलोकन गर्न जाने जम्बो टोली सम्झेँ, विपद्‌मा बाँचेकासँग सेल्फी खिच्नेहरूको लर्को याद आयो।

अनि आफैँले पढाएको एउटा निबन्ध सम्झेँ– ग्राउन्ड जिरो। यसमा अमेरिकाको म्यानह्याटनको जुम्ल्याहा टावरमा आक्रमणपछि स्वदेशी-विदेशीको लाम लागेको प्रसंग समावेश छ। बारपाकदेखि लाप्राकका मूल बाटोमा टाँगिएका टिनका पातामा लेखिएका थिए– एपिसेन्टर एड्भेन्चर ट्रेल अर्थात् भूकम्पको केन्द्रबिन्दु साहसिक मार्ग। यही स्वरूपमा प्रचलनमा छन् यसअघि नै रुकुम रोल्पातिर गोरिल्ला ट्रेल अनि माँझकिराततिर मुन्धुम ट्रेल।

बारपाक मात्र पुगेर फर्कनेको सूचीमा नाम दर्ज गराउन मनले मानेन। वीरबहादुर सरको कुरा त मलाई पनि लागु हुन्थ्यो। लाप्राक कति टाढा छरु मैले सोधेँ। सँगै रहेकी महिलाले भनिन्– एकरडेढ घण्टाको गाडीको बाटो हो। अब एकछिनमा काठमान्डुको बस आउँछ। जाने भए हिँड्नोस्, म पनि उतै जाने हो।

सरसँग छुट्टिएर हामी गाडीको प्रतीक्षामा बसपार्कतिर सोझियौँ। ग्रामीण दृश्यपान गर्दे म सवाररत थिएँ। मेरो नाम विष्णुकुमारी गुरुङ। हिजो साँझ काठमाडौँबाट फर्केको। लाप्राकभन्दा पनि तल छ हाम्रो गाउँ त। गुम्दा भन्छ गाउँको नाम। सहयात्री महिलाले परिचय तन्काउँदै बेलिबिस्तार लगाइन्। मैले पनि संक्षिप्त चिनारी दिएँ आफ्नो।

लाप्राक नआउँदै एउटा सुन्दर गाउँ आयो। एकैखालका घरहरू बनेका रहेछन् त्यहाँ। लाप्राकमा विनाशकारी भूकम्पले सबै घर ढलाएपछि केही नमुना बस्ती बनेका रहेछन्। त्यसमध्येको एउटा बस्ती थियो यो। खैरो-सेतो रङका पक्की छाना थिए हरेक घरमा। एनआरएनका पूर्वअध्यक्ष शेष घलेको अगुवाइ र सहयोगमा निर्मित बस्ती रहेछ यो।

उत्तिकै आकर्षक पनि। दुस्खको कुरो, यत्रो खर्चमा बनेका यी बस्तीमा कमै मान्छे मात्र बस्छन्। खेतीपाती र दैनिक कर्मले गर्दा उताको लाप्राक बजारका बासिन्दा ढुक्कै यो बस्तीमा आएर बस्न इच्छुक भएनन्, गाडीमा भेटिएका स्थानीय राजनीतिकर्मी राज गुरुङले एउटा रहस्यको पर्दा उघारे।

लाप्राक पुग्नु केही अगाडि एउटा पार्क देखियो। थाप्लामा लेखिएको थियो– इमान आरोही पार्क। एकैछिनमा हामी पुग्यौँ गाडीको अन्तिम गन्तव्य– लाप्राक। बस्ती सामान्य रहेछ, केही कामचलाउ होटल रहेछन्।

गाडीका सहयोगी भाइ नेत्र कुमाल गाडीबाट झरेर नजिकैको एउटा चिया पसलमा कफी पिउँदै रैछन्। ल सर थकाइ मार्नोस् एक छिन, सरलाई पनि एउटा कफी दिनोस् साहुजी। उनको बोलीमा आग्रह होइन, आदेशको भनक थियो। कफी पिउँदै गर्दा अरू केही स्थानीयहरू थपिए। विष्णुजी पनि जोडिइन्। उनीहरू चाहिँ रातसाँझ गरेरै पनि गुम्दा झर्ने योजना बुन्दै थिए।

उनीहरू मलाई आग्रह गर्दै थिए, जाऔँ सर उतै हाम्रो गाउँमा। होमस्टे उपलब्ध छ उता। सफा ठाउँमा बसाइ, सुताइ हुन्छ। गाउँको ताजा तरकारी, खाना खान पाइन्छ। यता त सहरको चस्का पसिसक्या छ। पैसा मात्रै धेरै लिन्छ, सुविधा त फिटिक्कै छैन, खत्तमै छ। स्थानीय केटाहरूले तर्साउन खोजेझैँ लाग्यो। साँझको वेला, फेरि अर्को गन्तव्यरु जान मन पनि लाग्यो, तर द्विविधा पनि थियो।

सहरमा पठाओ, इनड्राइभ जस्तै मोटरसाइकल राइडर सेवा यता पनि प्रचलनमा रहेछ। तर, सिमसिम पानी परेको मौसमले गर्दा होला, धेरै जना घर फर्किसकेछन्।

विष्णुजीले चिनेजानेका राइडरलाई फोन गरिन्, सबै खाइपिइमा मस्त रहेछन्, रातभर चल्ने देखियो उनीहरूको जमघट। अब हिँड्नुको विकल्प छैन। उनीहरूको निष्कर्ष निस्कियो। म अझै अनिर्णीत थिएँ। केटाहरू खुट्टा उचाल्दै थिए। उत्तिकैमा एक भाइले थपे– गाउँमा त अतिथिको सत्कारमा नाचगानसमेत हुन्छ। गुम्दा एकता महिला समूहले गर्छ कार्यक्रम। यो दिदी नै त हो नि समूहको अध्यक्ष। अब भने मैले पनि उनीहरूसँगै जाने निधो गरेँ।

अगाडि लागिन् विष्णुजी। मसँगै थिए दुई भाइ टकबहादुर र आशिष। उनीहरूकै तोडमा जोड गर्दै लम्किएँ म पनि। सिमसिम पानी पहिलेदेखि नै थियो।

अब भने दर्किन थाल्यो। सबैले आआफ्नो छाता खोल्यौँ अनि अघि बढ्यौँ। उकालो(ओरालो बाटो, रातको समय। एक ठाउँमा सुस्ताउन एकछिन अडियौँ। अन्धकार भइसकेको थियो। आकाशतिर परे मेरा नजर। थोरै बादल त थियो, तर चन्द्रमाको उपस्थितिलाई छेक्न सकेको थिएन।

ताराहरू पनि संघर्षरत थिए आकाशमा आफ्नो अस्तित्व दाबी गर्न। हँसियाकार चन्द्रमाले त्यो पल अलग एक सम्मोहन जगाएको थियो मनमा। प्रकृतिको यो छटा बिरलै नियाल्न पाइन्छ। फेरि सम्झेँ हेनरी डेभिड थोरोको एउटा लेख– ‘नाइट एन्ड मुनलाइट’। असाध्यै लोभलाग्दो छ थोरोको वर्णन यस निबन्धमा। चन्द्रमाको उज्यालोमा रातका अनेक अगोचर पक्ष उजागर गर्छन् उनी।

रातमा घरभित्र थन्किने मनुवाहरूप्रति दयाभावमा भन्छन् उनी– प्रकृतिको विछट्टै मोहकरूप गुमाउँदै छौ, तिमीहरू अर्थात् शीघ्र सुतुवाहरू। साथमा आएका दुई भाइको गीतले मेरो एकाग्रता खोसियो। घरीघरी गीत गाएर न्यास्रो मेटाउँथे उनीहरू, यसपालि विष्णुजी पनि उनीहरूसँगै भाका मिसाउँदै रहिछन्।

दर्के पानीले बाटोको खाल्डा पुरेर समथर पारेको थियो, चन्द्रमाको मलिन प्रकाशले उति भर दिएको थिएन। आआफ्ना मोबाइलको टर्च बाल्दै हामी अग्रगमन गर्दै थियौँ। घरीघरी त खाल्डोमा जाकिन्थ्यौँ, कतै चिप्लेटी बाटो अनि कतै गज्याङगज्याङ हिलो, कहीँ गाईवस्तुको गोबरको उरुङ। भाइहरू एक ठाउँमा टक्क अडिए, मलाई कुर्दै रैछन् उनीहरू।

विष्णुजी पनि रोकिइन्। उनैले भनिन्– यताबाट छोटो बाटो छ, अलि ओरालो पर्छ। जंगलको बाटो हो, तर डराउनु पर्दैन। छिटो पुगिन्छ, लागौँ यतैबाट। मसँग उनीहरूलाई पछ्याउनुको विकल्प थिएन। एक ठाउँमा लहरामा मेरो देब्रे खुट्टा अल्झियो, आशिषले उद्धार गरे।

एकैछिन सुस्ताउन अडिएको के थिएँ, जुकाले जुत्ताभित्र कब्जा जमाइसकेछ। चिलाएर हैरान। भोको पेट, थाकेको ज्यान लिएर अघि बढिरह्यौँ। छड्के पानीबाट छाताले जोगाउन सकेको थिएन हामीलाई, आधासरो शरीर भिजेको अवस्थामा त्यो दिनको बिसौनी टेकियो बल्लतल्ल।

खबर पहिल्यै पुगेकाले बस्ने घरको टुंगो भइसकेको थियो। तासपानी गुरुङ घरमूली। श्रीमान् खाडीमा, ठाकु पनि बाउलाई पछ्याउँदै अरबतिर गोयो परार साल। सानो छोरो र कासी (कान्छी छोरी) चाहिँ पढ्दै छन्। एक जना सदरमुकाममा अनि अर्को सामाखुसी, काटमान्डूमा। तासपानीले यसो भनिरहँदा एउटा गह्रौँ भारी बोकेको भान हुन्थ्यो।

उमेरभन्दा पहिल्यै चाउरेको अनुहार, कुप्रिएको ढाड र पटपटी चिरिएका कुर्कुच्चाहरूले नबोलेरै धेरै भनिरहेका थिए। श्यामलको निबन्ध ‘रित्तो गाउँ’ का हरेक हरफ तासपानीको जीवनबाट उतारिएको जस्तो लाग्यो। स्थानीय निगुरो, हल्का भुटेको मट्यांग्रे, आलुको सब्जी अनि सिलामको अचारमा बेसाएको चामल थियो खानामा। तिक्खरिलो खानाको स्वाद बसिरह्यो जीब्रोमा।

अनायासै मुखबाट निस्केछ, जिभेरमध्ये लेगेई थाक्लो। विष्णुजी बोलिन्– के भनेकोरु मैले भनेँ– खाना मीठो थियो, जिब्रोमा अझै स्वाद झुन्डिबसेको छ। के भाषा हो योरु बंगाली– मेरो जवाफ। हामी बुझ्दैन। म पनि त तपाईंहरूले बोलेको कहाँ बुझ्छु तरु अघि एक घन्टादेखि त्यहाँ जम्मा भएका गाउँलेहरू सबै गुरुङ भाषामै संवाद गर्दै थिए, म मौन भएर उनीहरूको हाउभाउबाट केही अर्थ खोजिरहेको थिएँ।

 अब जानुपर्छ, पानी पनि बन्द भयो, नाचगान टोली जम्मा भइसक्यो। महिला समूहकी कोषाध्यक्ष कान्छी गुरुङले सबैलाई तताइन्। बाहिर आँगनमा म्याट्रेस बिछ्याइएको थियो। स्कुले उमेरका नानीहरूदेखि आमा(हजुरआमा उमेरका सबै एकसाथ भेला भएका थिए।

घलेक, चौबन्दी चोलो, लुंगी आदि पहिरन-परिधानमा स्थानीय गुरुङपना झल्किन्थ्यो। पोते, तिलहरी आदि जडित थिए विवाहितका गलामा। चिरिच्याट्ट मिलाएर माला पहिरेका केही युवती लेहँगामा सजिएका देखिन्थे। मोबाइलबाट छानीछानी गीतहरू घन्काइयो, लाउडस्पिकरले आवाजलाई एम्पिफ्लाई गरेर लेकाली गाउँघरलाई ब्युँझायो।

अरू गाउँलेहरू थपिए, यता सांस्कृतिक नृत्य सुरु भयो। एकल, युगल, त्रय, गर्दै बहुल नृत्यांगनाहरूले आआफ्नो नाच प्रस्तुत गरे। पछि सामूहिक नाचमा सबै सरिक भए। चल्तीका गीत, दोहोरीबाट थालिएको यो सांगीतिक अनुष्ठान साँच्चिकै सांस्कृतिक बन्यो, जब त्यहाँ गुरुङ भाषाका गीतहरू गुन्जियो।

कान्छी गुरुङले सञ्चालन गरेको उक्त अनुष्ठानमा कलासी, निलम, विजय, सोनी आदिको मनोहारी नृत्य थियो। स्थानीय महिला समूह यस्तै नाचगान तथा अन्य सामाजिक कार्यबाट केही आर्थिक जोहो गर्दो रहेछ। आफ्नै भवन बनाउन तल्लीन छ, अन्य कार्यक्रम पनि योजनामा छन् साझेदारीमा। सहयोगी हात र मनहरूको खोजीमा छन् उनीहरू। साथै छन् सही मार्गदर्शनको अपेक्षामा।

भोलिपल्ट बिहानै घाम लागिसकेको थियो। माथि माथि खप्टेका हिमाल देखिन्थे। बस्तीहरू गुल्जार थिए। विष्णु गुरुङ र कान्छी गुरुङ मलाई गुम्दा गाउँ घुमाउन तम्तयार थिए। माथिपट्टि स्कुल रहेछ, तलको एउटा फराकिलो ठाउँलाई नामकरण गरिएको रहेछ–थामरा वाग पार्क।

पार्क भने बन्न बाँकी नै छ। यही स्थानमा हरेक वर्ष भदौको पहिलो हप्ता आलु मेलाको आयोजना गरिंदो रहेछ सोही महिला समूहको अगुवाइमा। आफूले फलाएको आलु बिक्री गर्ने अनि आलुकै विविध परिकारसमेत बनाएर नगद संकलन गर्ने प्रचलन रहेछ त्यसबखत। गाउँभरि ढुंगाको छपनी छ, सिँढीको काम गरेको छ एक ठाउँबाट अर्को ठाउँमा पुग्न। दसैँतिहार र नेपाली नयाँ वर्षमा स्थानीयवासीले आआफ्नो टोलका यिनै संरचनाको मर्मतसम्भार गर्ने गर्छन्।

गाउँको छोटो परिक्रमापछि उनै तासपानी गुरुङको घरमा भातभान्सा गरीवरी लागेँ म उकालो, राइडर भाइ टकबहादुरको पल्सर बाइकको पछाडि बसेर। गुम्दा जाँदा छुटेका दृश्यहरू फर्कंदा समेट्ने कोसिसमा थिएँ म– थोरै क्यामरामा, अलिक धेरै आँखाभित्रको रेटिनामा।

भूपाल राईले कवितामै लेखेँ ‘दाजै कविता गाउँमा छ’। म त भन्छु– सजीव जीवन छ गाउँमा, तर अलिखित। लेखक साथीहरू१ गुजुल्टिएर नबसौँ धेरै यो सहरमा।

 

 

नेपाल न्यूजबाट साभार