रन पछ्याउँदा दबाब:भारत र वेस्ट इन्डिजबीचको अन्तिम खेल बाँकी

भारतका कप्तान शुभमन गिलले वेस्ट इन्डिजविरुद्ध ४ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा टोलीमाथि केही दबाब रहेको बताएका छन्।

उनले ४ सय भन्दा बढीको लक्ष्य पछ्याउनु सहज नभए पनि इनिङ्सलाई साना लक्ष्यमा विभाजन गर्दै अघि बढ्दा सफलता मिलेको बताए।

भारतले बुधबार दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै ३ खेलको सिरिजमा २(० को अग्रता बनाएको हो।

वेस्ट इन्डिजले दिएको ४ सय ६ रनको लक्ष्य भारतले ४२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि गिलले अविजित २ सय २३ रन बनाए। उनले १ सय ३३ बलमा १६ चौका र ९ छक्का प्रहार गरे। यो उनको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो दोहोरो शतक हो।

रोहित शर्माले ७५ बलमा १ सय १ रन बनाए। विराट कोहलीले २९ र रितुराज गायकवाडले नटआउट ३१ रन बनाए ।

गिल र रोहितले पहिलो विकेटका लागि २ सय ५५ रनको साझेदारी गर्दै भारतको कीर्तिमानी लक्ष्य पछ्याउने आधार तयार गरेका थिए। पावरप्लेमा भारतले बिना विकेट ९२ रन जोडेको थियो।

‘पावरप्लेमा ७५–८० रन बनाएर कुनै विकेट नगुमाउने हाम्रो लक्ष्य थियो। नयाँ बलले सुरुवातमा केही प्रभाव पार्न सक्ने र बल पुरानो भएपछि ब्याटिङ अझ सहज हुने हामीले सोचेका थियौं,’ गिलले खेलपछि भने।

गिलका अनुसार भारतले मैदानको छोटो बाउन्ड्रीलाई पनि रणनीतिक रूपमा प्रयोग गरेको थियो।

‘मैदानको एकतर्फ छोटो थियो। त्यसैले तीव्र गतिका बलर आएपछि त्यही क्षेत्रमा प्रहार गर्ने हाम्रो योजना थियो। २५ ओभरसम्म २ सय –२ सय १० रनको आसपास पुग्यौं भने राम्रो अवस्थामा हुनेछौं भन्ने लागेको थियो। तर हामी त्यतिबेलासम्म २ सय ३०–२ सय ४० रनमा पुगिसकेका थियौं,’ उनले भने।

वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै ४ सय ५ रन बनाएपछि इनिङ्सको आधा समयमा भारतमाथि दबाब रहेको गिलले बताए।

‘४ सय रन बोर्डमा हुँदा केही दबाब थियो। पिच जति राम्रो भए पनि र मैदान जति सानो भए पनि ४ सय रन पछ्याउनु कहिल्यै सहज हुँदैन। उनीहरूले निकै राम्रो र स्वतन्त्र भएर ब्याटिङ गरेका थिए,’ गिलले भने।

वेस्ट इन्डिजका जोन क्याम्पबेल, शाई होप र अमिर जाङ्गुले शतक बनाएका थिए। टोलीले पावरप्लेमा एक विकेट गुमाएर ९६ रन जोडेको थियो।

‘एक समय उनीहरूले ४ सय २०–४ सय ३० रनसम्म बनाउन सक्ने देखिएको थियो। तर अन्तिम चरणमा २५–३० रन भए पनि उनीहरूलाई रोक्न सक्नु हाम्रा लागि बोनस भयो,’ गिलले भने।

भारतले पहिलो विकेटका लागि २ सय ५५ रनको साझेदारी गरेपछि खेलमा दबाब आफ्नो टोलीमा नरहेको गिलको भनाइ थियो।

‘पावरप्लेपछि दबाब हामीमाथि भन्दा उनीहरूमाथि थियो। इनिङ्सको आधासम्म हामीले कुनै विकेट गुमाएका थिएनौं। त्यो हाम्रो लागि ठूलो फाइदा बन्यो,’ उनले भने।

दोस्रो खेलमा जितसँगै भारतले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। गिलले सिरिजको अन्तिम खेलमा अहिलेसम्म अवसर नपाएका खेलाडीलाई मौका दिने संकेत गरेका छन्। मोहम्मद सिराज, ध्रुव जुरेल र यशस्वी जैसवालले सिरिजमा अहिलेसम्म खेलेका छैनन्।

भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अक्टोबर ३ मा न्यु चण्डीगढमा हुनेछ। त्यसपछि अक्टोबर ८ देखि १७ सम्म दुई टोलीबीच पाँच खेलको टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हुनेछ।