सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–११, न्यौपानेटारमा युवाशक्ति, सकारात्मक सोच, वातावरण संरक्षण, सरसफाइ, उद्यमशीलता, नेतृत्व विकास तथा सामाजिक रूपान्तरणका विषयमा केन्द्रित एकदिने जनचेतनामूलक तथा प्रेरणादायी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
न्यौपानेटार युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा वर्तमान विश्व परिवेश, नेपालको सम्भावना, युवाको भूमिका, कृषि तथा आत्मनिर्भर अर्थतन्त्र, डिजिटल अवसर, वातावरण संरक्षण, दुर्व्यसन न्यूनीकरण, नेतृत्व विकास र सकारात्मक सामाजिक रूपान्तरणका विषयमा विस्तृत छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने, सहकार्य र सद्भाव बढाउने, सरसफाइ तथा वातावरण संरक्षणलाई जीवनशैलीको रूपमा आत्मसात गर्ने र युवालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न प्रेरित गर्ने सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका–११ का वडा अध्यक्ष रामजी माझी तथा विशेष अतिथि इन्द्रावती गाउँपालिका–१० का वडा अध्यक्ष रामचन्द्र घिमिरे ले युवाहरूको सक्रियता र सामाजिक जागरणका यस्ता कार्यक्रमले समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। त्यसैगरी अतिथि तथा परोपकार आधारभूत विद्यालयका प्रधानाध्यापक सुजन सापकोटा लगायत प्रशिक्षकहरूले सकारात्मक सोच, अनुशासन, शिक्षा, नेतृत्व र उद्यमशीलतामार्फत समाजलाई समृद्ध बनाउन युवाले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय अभिभावक, बुद्धिजीवी, शिक्षक, समाजसेवी, जनप्रतिनिधि, प्रशिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा ठूलो संख्यामा युवा सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण, सरसफाइ, सामाजिक एकता, आत्मनिर्भरता र सकारात्मक सोचलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
न्यौपानेटार युवा क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक, प्रशिक्षक, अतिथि, स्थानीयवासी तथा कार्यक्रममा सहभागी सम्पूर्ण बुबा–आमा, दाजुभाइ, दिदीबहिनी, जुझारु युवा साथीहरू र सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रमले केवल एक दिनको प्रशिक्षणमा सीमित नभई समाजमा सकारात्मकता, जिम्मेवारी, नेतृत्व, उद्यमशीलता र सामुदायिक एकताको नयाँ सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो। युवाको सक्रियता, सकारात्मक सोच र सामूहिक प्रयासबाट समृद्ध, सभ्य र आत्मनिर्भर समाज निर्माण गर्न सकिने विश्वासका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।







