जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौं मन्त्रिस्तरीय बैठकमा नेपालका प्राथमिकता प्रस्तुत गरेकी छन्।

थाइल्याण्डको बैंककमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका क्षेत्रमा गरेका प्रयासबारे जानकारी दिइन्।

मन्त्री चौधरीले नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेको उल्लेख गर्दै जलवायु न्याय, सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्।

उनले सामुदायिक वन व्यवस्थापन, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जा तथा प्रकृतिमा आधारित समाधानलाई नेपालको सफल अभ्यासका रूपमा प्रस्तुत गर्दै वातावरणमैत्री उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच उपलब्ध गराउन आग्रह गरिन्।

बैठकका क्रममा मन्त्री चौधरीले यूएन ईस्क्यापकी कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानासँग भेटवार्ता गरी जलवायु परिवर्तन, दिगो कृषि, जैविक अर्थतन्त्र, कार्बन बजार तथा प्राविधिक सहयोगका विषयमा सहकार्य विस्तारबारे छलफल गरिन्।

त्यसैगरी, बंगलादेशका वातावरणमन्त्री अब्दुल आवाल मिन्टूसँग भएको भेटमा कृषि आधुनिकीकरण, जैविक अर्थतन्त्र, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ।