आज कात्तिक २३ गते सोमबार गाईको पूजा गर्ने चलन छ। ‘गाई र माई’ भन्ने उखान भारतवर्षमा खुब प्रचलित छ। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गरिन्छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई ऊर्जा र पवित्रता दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।
आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।
गौमाताको महत्त्व
सनातन ग्रन्थहरूमा ब्रह्मा, विष्णु र शिव तीनै देवताहरूले आत्मसात् गरेको र उच्चारण गरेको यस श्लोकले गौमाताको महत्त्व प्रकट गरेको छ।
त्वं माता सर्वदेवानां त्वं च यज्ञस्य कारणम्। त्वं तीर्थं सर्वतीर्थानां नमस्तेऽस्तु सदानघे॥
हे पाप नाशकर्ता, सबै देवताहरूकी माता, हरेक यज्ञको कारण तथा सबै तीर्थहरूमध्ये सबैभन्दा पवित्र, तपाईंलाई म नमन गर्दछु।
