एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको छ ।
मनोनयनमा पर्ने खेलाडीमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडि सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रविन्द्र ढाँट रहेका छन् ।
मनोनयनमा परेका खेलाडीको प्रोफाइल
मीना सुनार (भलिबल) – उदीयमान महिला भलिबल खेलाडी, शक्तिशाली स्पाइकर – काभा महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन – काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो – एभरेस्ट भलिबल क्लब, बुटबलकी कप्तान
पूजा राना (फुटबल) – एसियन कप छनोट उज्वेकिस्तानमा उच्च प्रदर्शन – विदेशमा व्यावसायिक लिगमा प्रभावशाली प्रदर्शन – भुटान (ट्रान्सफर युनाइटेड) र बंगलादेश (फरासगन्ज एफसी र नासरिन स्पोट्र्स एकेडेमी) सँग आबद्ध
सानुमाया थिङ (कराते) – विश्व कराते च्याम्पियनसिप (कायरो, इजिप्ट), एकल कातामा सहभागिता – २१औं एसियन कराते च्याम्पियनसिप (कांस्य पदकलाई प्रतिस्पर्धा) – दक्षिण एसियाली कराते च्याम्पियनसिप (टिम काता स्वर्ण, एकल काता रजत) – यूकेकेसी वान अल्टिमेट काता र कुमिते च्यालेन्जमा स्वर्ण
शेर मल्ल (क्रिकेट) – आईसीसी टी–२० विश्वकप डेब्यु खेलकामे पहिलो बलमै विकेट लिन सफल – मलेसियामा एसियन गेम्स क्वालिफायरमा हङकङसँग ४ विकेट र मलेसियासँग ३ विकेट लिन सफल – नेपाल प्रिमियर लिग सिजन २ मा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका – एनपीएलका १० खेलमा १७ विकेट लिन सफल ।
रवीन्द्र ढाँट (मिक्स मार्सल आर्ट्स) – ‘बझाङका बाघ’ भनेर चर्चित एमएमए फाइटर – गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ बेन्टमवेट च्याम्पियन । – एसिया प्यासिफिक रिजनको २०५औं वरीयता प्राप्त– रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर ।
एसियाली खेलकुदको इन्डिभिजुयल काता र टिम कातामा छानिएकी कराते खेलाडी सानुमायाले पिपल्स च्वाइसको मनोनयनमा परेको खुशी ब्यक्त गरिन्। उनले भनिन् , ञयो सफलताको लागि म कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। यसले मेरो खेल करिअरमा नयाँ उर्जा थपिएको मैले महशुश गरेको छु।झ
त्यस्तै भलिवलकी मीनाले पनि पिपल्स च्वाइसमा छानिन पाउनुलाई गर्वको विषय भनी ब्याख्या गरिन्। मीना पनि एसियाली खेलकुदको बन्द प्रशिक्षणमा छिन्। आइतबार पत्रकार सम्मेलनमा पूजा, रविन्द्र र शेर विदेशमा रहेकाले उपस्थित थिएनन्।
भोटिङमा नयाँ शैली
पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाएको जनाएको छ।
विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरुले जति पनि रुपैंया हाल्न पाइन्थ्यो। यसपटक एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछ।
जसको लागि १० रुपैँया मात्र राख्न पाउने नियम बनाइएको छ। अब एक समर्थकले एक युजरबाट दिनमा १ पटक मात्र भोट हाल्न सक्नेछ। भोट भने प्रत्येक दिन हाल्न पाइनेछ।
कसरी विजेता छानिन्छ ?
विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट खल्ती बाई आइएमइमा प्राप्त मतका आधारमा चुनिने छ ।
भोटिङ पार्टनर आईएमई खल्तीको मतभार ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरुबाट प्राप्त मतको हुनेछ ।
फेसबुकबाट मत दिंदा एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ । यो विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त ।
गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ सुरु भइसकेको बताइएको छ ।
