बेस्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स’ : ६०० बिरुवा रोप्दै हरित भविष्यको अभियान

ललितपुर । बचतलाई वातावरण संरक्षणसँग जोड्दै बेस्ट फाइनान्स कम्पनी लिमिटेडले ललितपुरको गोदावरी नगरपालिका–५ मा ६०० वटा बिरुवा रोपेको छ।

नेपाल राष्ट्र बैंकको ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी, २०२४’ कार्यान्वयन तथा हरित वित्त प्रवर्द्धन गर्ने उद्देश्यले बेस्ट फाइनान्सले सञ्चालनमा ल्याएको ‘ग्रीन सेभिङ्स’ योजनाअन्तर्गत प्रत्येक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था गरिएको छ।

सामुदायिक वन दिवस २०८३ को अवसरमा “सामुदायिक वनको अबको बाटो : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने नारासहित महत गाउँ सल्लीघारी सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्य र जिल्ला वन कार्यालय, ललितपुरको सहयोगमा वृक्षरोपण गरिएको हो।

गोदावरी–५ स्थित महत गाउँ सल्लीघारी सामुदायिक वनको सेक्टर ए, बी र सी क्षेत्रमा रोपिएका ६०० बिरुवाको नियमित गोडमेल, मलजल, संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी सामुदायिक वन उपभोक्ता समितिले लिएको छ। कुनै बिरुवा मरेमा पुनः रोप्ने तथा कम्तीमा पाँच वर्षसम्म संरक्षण गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रममा बेस्ट फाइनान्सका अध्यक्ष प्रा. डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत विएन घर्तीसहित कम्पनीका कर्मचारी, सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानीय जनप्रतिनिधि, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता थियो। कार्यक्रममा १२० जनाभन्दा बढी सहभागी भएका थिए।

बेस्ट फाइनान्सले “एक बचत, एक बिरुवा, हरित भविष्य”को अवधारणामार्फत वित्तीय बचतलाई वातावरण संरक्षणसँग जोड्ने प्रयास गरेको जनाएको छ। जैविक विविधता संरक्षण, कार्बन अवशोषण वृद्धि, जलाधार संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत अभियानले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।