आजदेखि एनसेलले गोरखासहित पाँच जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

एनसेलले फोरजी नेटवर्क विस्तारलाई प्राथमिकता दिँदै देशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ।

कम्पनीले आज भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका २०० भन्दा बढी मोबाइल टावरबाट प्रदान हुँदै आएको थ्रीजी सेवा बन्द गर्ने भएको हो।

थ्रीजी सेवा बन्द हुने जिल्लामा गोरखा, लमजुङ, बर्दिया, पाल्पा र कैलाली रहेका छन्। एनसेलका अनुसार फोरजी भोल्टेको पहुँच बढ्दै गएको र नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार थ्रीजी नेटवर्क क्रमशः बन्द गर्दै लगिएको हो।

गण्डकी प्रदेशअन्तर्गत गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानमा थ्रीजी बन्द हुनेछ। लमजुङका मर्स्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थान पनि प्रभावित हुनेछन्।

त्यसैगरी, लुम्बिनी प्रदेशको बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ। सुदूरपश्चिम प्रदेशको कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गरिने कम्पनीले भनेको छ।