काठमाडौँ । मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा साउन महिनाको दोस्रो चरणको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो।
विभागले साउनको दोस्रो १६ दिनमा विद्युतीय माध्यमबाट कारोबार गरी बिल लिने उपभोक्तामध्ये दैनिक एक९एक जनाका दरले १६ जना छनोट गरेको थियो।
सबै सहभागीमध्ये थप एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहारका लागि छनोट गरिएकोमा पुडासैनी विजेता बनेका हुन्।
पुडासैनीले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा मोबाइलको कभर र सिसा फेर्दा गरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।
बाराको सिमरा घर भएका पुडासैनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा प्रहरी नायब निरीक्षक पदमा कार्यरत छन्।
“मोबाइलको कभर र सिसा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,” उनले भने, “त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।”
उनले सकेसम्म अनलाइन तथा विद्युतीय माध्यमबाट कारोबार गर्न र प्रत्येक खरिद-बिक्रीमा अनिवार्य रूपमा बिल लिन तथा दिन उपभोक्ता र व्यवसायीलाई आग्रह गरेका छन्।
