काठमाडौं । निष्क्रिय कर्जा बढ्दै गएपछि नेपालका फाइनान्स कम्पनीहरूको वित्तीय स्वास्थ्यमा दबाब बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा अनुपात उल्लेख्य रूपमा बढेको हो।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ वटा फाइनान्स कम्पनीमध्ये १४ वटा कम्पनीको औसत निष्क्रिय कर्जा अनुपात ७ दशमलव ६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ वटा कम्पनीको निष्क्रिय कर्जा अनुपात दोहोरो अंकमा पुगेको छ।
उक्त तथ्यांक कम्पनीहरूले राष्ट्र बैंकमा बुझाएका अपरिष्कृत वित्तीय विवरणमा आधारित रहेको हो। अन्तिम लेखापरीक्षणपछि तथ्यांकमा केही परिवर्तन हुन सक्ने भए पनि हालको अवस्थाले फाइनान्स कम्पनीहरूको कर्जा गुणस्तरमा उल्लेख्य दबाब रहेको देखाएको छ।
जानकी फाइनान्सको अवस्था कमजोर
निष्क्रिय कर्जाको अनुपातका आधारमा जानकी फाइनान्स सबैभन्दा कमजोर अवस्थामा देखिएको छ। कम्पनीको कुल कर्जामध्ये ६१ दशमलव ५५ प्रतिशत निष्क्रिय कर्जामा परेको छ। अर्थात् कम्पनीले प्रवाह गरेको प्रत्येक १०० रुपैयाँ कर्जामध्ये करिब ६२ रुपैयाँ असुलीको दृष्टिले निष्क्रिय बनेको अवस्था छ।
कम्पनीको समस्या निष्क्रिय कर्जामा मात्र सीमित छैन। जानकी फाइनान्सको प्राथमिक पूँजी र कुल पूँजीकोष दुवै २५ करोड २७ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको छ। कम्पनीको प्राथमिक पूँजी तथा कुल पूँजी पर्याप्तता अनुपातसमेत ऋणात्मक ६ दशमलव १४ प्रतिशतमा झरेको छ।
६९ करोड रुपैयाँ चुक्तापूँजी रहेको संस्थाको पूँजीकोष ऋणात्मक हुनुमा सञ्चित घाटाले ठूलो प्रभाव पारेको देखिन्छ। त्यस्तै, कम्पनीको कर्जा–निक्षेप अनुपात ९८ दशमलव ५७ प्रतिशत पुगेको छ। यो नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा माथि हो।
यसले जानकी फाइनान्समा निष्क्रिय कर्जा, पूँजी पर्याप्तता र स्रोत व्यवस्थापन तीनवटै क्षेत्रमा एकैपटक दबाब रहेको देखाएको छ।
६ कम्पनीको निष्क्रिय कर्जा दोहोरो अंकमा
राष्ट्र बैंकको तथ्यांकअनुसार १४ फाइनान्स कम्पनीमध्ये ६ वटाको निष्क्रिय कर्जा अनुपात १० प्रतिशतभन्दा माथि पुगेको छ। जानकी फाइनान्सपछि पोखरा फाइनान्सको निष्क्रिय कर्जा अनुपात उच्च रहेको छ। कम्पनीको निष्क्रिय कर्जा अनुपात २० दशमलव ८४ प्रतिशत पुगेको छ।
त्यस्तै, नेपाल फाइनान्सको निष्क्रिय कर्जा अनुपात १३ दशमलव ८३ प्रतिशत, बेस्ट फाइनान्सको १३ दशमलव ६९ प्रतिशत र गोर्खाज फाइनान्सको १३ दशमलव ३२ प्रतिशत रहेको छ। सेन्ट्रल फाइनान्सको निष्क्रिय कर्जा अनुपात पनि १० दशमलव ४० प्रतिशत पुगेको छ।
फाइनान्स कम्पनीहरूका लागि पछिल्लो अवस्था व्यवसाय विस्तारभन्दा पुरानो कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने संकेतका रूपमा देखिएको छ। निष्क्रिय कर्जा बढ्दा ब्याज आम्दानीमा असर पर्नुका साथै कर्जा नोक्सानी व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्ने हुन्छ।
यसको प्रत्यक्ष असर कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, खुद सम्पत्ति मूल्य तथा लाभांश वितरण क्षमतामा पर्न सक्छ। विशेषगरी दोहोरो अंकमा निष्क्रिय कर्जा पुगेका कम्पनीहरूले प्रभावकारी रूपमा कर्जा असुली गर्न नसके आगामी आर्थिक वर्षमा पनि सेयरधनीलाई आकर्षक प्रतिफल दिन कठिन हुन सक्ने देखिन्छ।
त्यसैगरी, पूँजीकोष कमजोर भएका कम्पनीमा थप कर्जा बिग्रिँदै गए नयाँ पूँजी जुटाउने, व्यवसायको आकार घटाउने वा मर्जर तथा प्राप्तिको विकल्प रोज्नुपर्ने दबाबसमेत बढ्न सक्ने अवस्था देखिएको छ।

