बुकी फूल र पशुबथानको मनमोहक पाटन

सुर्खेत । जाजरकोटको बारेकोट क्षेत्रका उच्च पाटनहरू यतिबेला रंगीविरंगी बुकी फूलले ढकमक्क छन् । हरिया डाँडाकाँडा, फुलेका बुकी र पाटनमा चरिरहेका भेडा–घोडाका बथानले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने दृश्य देखिन्छ । प्राकृतिक सौन्दर्यसँगै परम्परागत पशुपालन र जडिबुटीका कारण यी पाटनले पर्यटकीय तथा आर्थिक सम्भावना बोकेका छन् ।

बारेकोटसँगै जुम्ला र अन्य आसपासका क्षेत्रसँग जोडिएका यी पाटन तीन जिल्लाको संगमस्थलका रूपमा पनि चिनिन्छन्। भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्यका कारण पदयात्रा र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको स्थानीय बताउँछन् ।

विशेषगरी वैशाखदेखि असोजसम्म करिब छ महिना पाटन क्षेत्रमा स्थानीयका भेडा, घोडा तथा अन्य चौपाया चराउन लैजाने गरिन्छ । पुस्तौँदेखि चलिआएको यो परम्परागत पशुपालन स्थानीयको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । गर्मी मौसममा उच्च पाटनमा पशु लैजाने र मौसमअनुसार तल झार्ने परम्पराले यहाँको ग्रामीण अर्थतन्त्र र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राखेको छ ।

पाटनमा पशुचौपायासँगै विभिन्न प्रकारका बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । स्थानीयले जडिबुटी संकलन तथा बिक्रीबाट अतिरिक्त आम्दानी गर्दै आएका छन् । पशुपालन, जडिबुटी र पर्यटनलाई व्यवस्थित रूपमा जोड्न सके स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने सम्भावना छ ।

यी पाटनको अर्को विशेषता सामाजिक तथा सांस्कृतिक सम्बन्ध पनि हो । जाजरकोटको बारेकोट र जुम्लातर्फका पशुपालक किसानहरू एउटै पाटनमा पुग्ने भएकाले उनीहरूबीच वर्षौंदेखि आपसी सम्बन्ध, सहकार्य र सांस्कृतिक आदानप्रदान हुँदै आएको छ । भौगोलिक सीमाभन्दा माथि उठेर साझा चरन क्षेत्रले स्थानीय समुदायबीचको सम्बन्धलाई जोड्दै आएको छ ।

प्राकृतिक रूपमा संवेदनशील यी पाटनको संरक्षण भने चुनौतीपूर्ण बन्दै गएको छ । लामो समयसम्म हुने चरन, जडिबुटीको अनियन्त्रित संकलन तथा बढ्दो मानवीय गतिविधिले भविष्यमा यहाँको जैविक विविधतामा असर पार्न सक्ने जोखिम छ । त्यसैले पर्यटन प्रवद्र्धनसँगै चरन क्षेत्रको व्यवस्थापन, जडिबुटी संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक देखिन्छ ।

स्थानीय तहले पाटन क्षेत्रको सम्भाव्यता पहिचान गरी पदमार्ग, सूचना केन्द्र, आवास तथा आधारभूत पूर्वाधार विकास गर्न सके यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ । प्राकृतिक सौन्दर्य, पशुपालन, जडिबुटी र स्थानीय संस्कृतिलाई एउटै पर्यटकीय उत्पादनका रूपमा विकास गर्न सके यहाँको अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।