सम्माननिय सभामुख महोदय,
सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तैपनि यो सुन्नस् –
यहाँ उपस्थित कति जनाका छोरा छोरीको उमेरको होला, कतिको नाति नातिनीको उमेरका – भर्खर १२ पास गरेकी बहिनीलाई नजिकको मान्छेमार्फत दलालले घरको काम गर्ने हो – ४३ हजार तलब, अझ फ्रि टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यहाँ पुगे पछि शोषणमा पर्छिन्, आफ्नै अगाडि आफ्नो मोल लगाएर बिक्रीमा पर्छिन्, भन्ने ठाउँ छैन, कानुनी अधिकार केहि छैन । ती बहिनी कसरी गइन् – भिजिट भिसामा ।
दलालले एक युवकलाई barrack मा बसे पुग्छ, खतरा छैन, ३ लाख महिनाको पाउछ भनेर सपना देखाउँछ, रसिया पुऱ्याइन्छ, अर्काको युद्धमा मा’रिन्छन्, बाँचेर फर्किनेले जिन्दगीभर नमेटिने शारीरिक र मानसिक घाउ बोकेर आउँछन् Linkedinबाट अन्तरवार्ता लिन्छ, पठाउँछ बर्मा, कम्बोडिया । कम्बोडियामा cyber scam cells मा जेल जस्तो अवस्थामा राखेर दिनरात हनीट्रयाप साइबर स्क्याम सेन्टरहरूमा काम गर्न बाध्य बनाउछ। टार्गेट पुगेन भनेर कुटपिट गर्ने, करेन्ट लगाउने सब गरिन्छ। दास जस्तो एक सेन्टरबाट अर्कोमा बेचिन्छ, आत्मसम्मान खोसिन्छ । यस्तोमा कसरी पुग्छन् नेपाली युवा – भिजिट भिसामा ।
यस्तो ठाउँमा युवा पठाउन समेत घुस लिनेलाई राजनैतिक संरक्षण दिने; आफ्नो भाग सफ्टवेयरबाट निकालेर खानेहरूमाथि छानबिन गरौँ भन्दा समेत नगर्ने – कतिसम्म गिरेको?
अनि यस्तो जोखिम छ भनेर थाहा पाउँदा पाउँदै पनि, ऋण लिएरै पनि जसरी पनि विदेश जानपर्छ भनेर मनस्थितिमा हाम्रो युवा कसरी पुगे, नेपाललाई खुला आकाश मुनिको गोलघर कसले बनायो ? सबैलाई थाहा नै छ तर किन केही नगरेको?
हाम्रो आन्दोलन जारी छ। छानबिन समिति बनाउनै पर्छ।
