श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले बदलिँदो श्रम बजारका चुनौतीहरूको सामना गर्न नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सरकार–रोजगारदाता–श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको रोजगारदाता परिषद्को तर्फबाट सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले नेपाल आर्थिक संक्रमणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गरे ।

उनले सरकारले सुशासन, लगानी प्रवद्र्धन र पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विस्तार र बढ्दो व्यावसायिक लागतका कारण निजी क्षेत्र चुनौतीमा रहेको बताए । साथै, रोजगारीका लागि नेपाली युवा ठूलो संख्यामा विदेश पलायन भइरहेकाले लगानीमैत्री नीति, सीप विकास र श्रम बजारको मागअनुसार शिक्षा प्रणाली सुधार गरी स्वदेशमै मर्यादित तथा उत्पादकमूलक रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

डिजिटल अर्थतन्त्रको विस्तारसँगै नेपालमा अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्ममा युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले यसले नयाँ अवसरसँगै श्रम मापदण्ड र सामाजिक सुरक्षासम्बन्धी नयाँ चुनौती पनि सिर्जना गरेको बताए ।

उपाध्यक्ष पाण्डेले विकासशील मुलुकहरूमा विश्वव्यापी श्रम मापदण्ड लागू गर्दा स्थानीय आर्थिक अवस्था, संस्थागत क्षमता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखी नीतिगत लचकता प्रदान गर्नुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा उनले नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक सुरक्षा तथा स्वास्थ्य प्रवद्र्धनका लागि विभिन्न पहल अघि बढाएको जानकारी पनि दिए । राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना कार्यान्वयनपछि सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक उत्तरदायित्व मात्र नभई उत्पादकत्व र प्रतिस्पर्धात्मकताको आधारका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो । चिया र अलैंची क्षेत्रका लागि विशेष निर्देशिका निर्माण गरी प्रारम्भिक कार्य सुरु गरिएको समेत उनले जानकारी दिए ।

महासंघले छनोट गरिएका उद्योगहरूमा ‘केयर मोडल’ पाइलट परियोजना सञ्चालन गरिरहेको उल्लेख गर्दै यसले विशेषगरी महिलाका लागि रोजगारीका अवसर विस्तार गर्न तथा कार्यस्थलमा सामाजिक समावेशीकरण र सामुदायिक कल्याण प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बाढी, पहिरो तथा जलवायु परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको असरलाई दृष्टिगत गर्दै हरित रोजगारी प्रवद्र्धन र जलवायु जोखिममा रहेका मुलुकहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने विषयलाई अन्तर्राष्ट्रिय श्रम बहसमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले विप्रेषण, आयात र पर्यटनमा निर्भर नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा रोजगारी संरक्षण, व्यवसायको निरन्तरता र सामाजिक संवादलाई बलियो बनाउन रोजगारदाताको भूमिका अझ महत्वपूर्ण हुने उनले बताए ।