बिपीको नाम जपेर मात्रै कांग्रेस नसुध्रिँदिने भएकाले नैतिकता व्यवहारमा उतार्नुपर्छ

नेपाली कांग्रेसका वैचारिक तथा अध्ययनशील नेता जीवन परियार संघर्षशील राजनीतिक यात्राका बाबजुद बारम्बार अवसरबाट वञ्चित हुँदै आएका छन् ।

पारिवारिक पृष्ठभूमि र समुदायप्रतिको पीडाका कारण राजनीतिमा होमिएका उनले दलित भएकै कारण अनेकौँ विभेद र अवसरको अभाव झेल्नुपरेको छ ।

पार्टीको १४औँ महाधिवेशनमा दलित कोटाबाट सहमहामन्त्री बनेका परियार पछिल्लो समय गगन थापासँग जोडिँदै संस्थापन पक्षमा पुगेका थिए । १५औँ महाधिवेशनमा उपसभापति पदको समावेशी कलस्टरमा अर्बपति विनोद चौधरीसँग प्रतिस्पर्धा गर्दा उनी झिनो मतले पराजित हुन पुगे ।

विधान निर्माणमा दलित उपसभापतिको व्यवस्थाका लागि प्रयास गरेका परियार चुनावी परिणामबाट विचलित नभई बिपी कोइराला र सुवर्ण शमशेरको समावेशी आदर्शलाई सम्झँदै कांग्रेसलाई जगैदेखि पुनःनिर्माण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश

महाधिवेशनमा यहाँ तपाईंले समावेशी कलस्टरबाट उपसभापतिमा उम्मेदवारी दिनुभएको थियो, चुनावमा पराजित हुनुभयो, कस्तो लागिरहेको छ ?

धेरैले मलाई फोन गरेर तपाईँको पराजयले कांग्रेसमाथि पनि प्रश्न उठेको छ भन्नुभयो । तपाईँ पराजित हुँदा हामी अत्यन्तै दुःखी छौँ भनेर कम्युनिस्टदेखि लिएर सबै विचारधाराका मान्छेले भनिरहनु भएको छ । मैले यसलाई स्वभाविक जित र हारसँग तुलना गरेको छु । तर धेरै विषयहरु चाहिँ भित्री रूपमा आँकलन र समीक्षा गर्नुपर्ने छ ।

१५ औँ महाधिवेशनको अनुभव कस्तो रह्यो ?

म पार्टीको एउटा सिद्धान्त विचार र निष्ठामा अडिएको मान्छे हो । पार्टीको सिद्धान्त, नीति, विचार, कार्यक्रम मन परेरै यो पार्टीमा लागेको हुँ । म बिपी कोइरालालाई यतिबेला सम्झन चाहन्छु । मेरो पराजयमा बिपी कोइराला सम्झिन्छु । सबैभन्दा पछाडि परेका जातजाति र समुदायको नेपाली कांग्रेस हो भन्ने विचार बिपी कोइरालाले प्रतिपादन गर्नुभएको हो । यहाँले त्यतिबेलाको बिपी कोइरालाको कार्यसमिति पनि हेर्न सक्नुहुन्छ ।

२००९ सालमा कांग्रेसको पाँचौँ राष्ट्रिय महाधिवेशन जनकपुरमा भएको हो । बिपी कोइराला त्यतिबेला सभापतिको बन्नुभयो । उहाँ सभापतिमा निर्वाचित भइसकेपछि पार्टीको दोस्रो ठूलो पद भनेको महामन्त्री हो । त्यसबेला धनमानसिंह परियारलाई महामन्त्री बनाएको पार्टी नेपाली कांग्रेस हो । आजभन्दा ७३-७४ वर्ष पहिला ।

त्यतिबेला बिपीले नै उहाँलाई महामन्त्री बनाउनुभएको थियो । त्यो बेला न समावेशी सिद्धान्तको कुरा थियो, न समानुपातिकको कुरा थियो, न विधानमै कुनै व्यवस्था थियो । त्यसले गर्दा आज म झलझली बिपी कोइरालालाई सम्झिन्छु । बिपी कोइरालाको नाम जपेर मात्रै कांग्रेस सुध्रिँदैन ।

बिपी कोइरालाको विचारलाई हामीले कार्यान्वयन गर्नुपर्छ । बिपीको विचारलाई हामीले अँगाल्न सक्नुपर्छ । नेपाली कांग्रेसको संस्थापक सदस्य दुई जना हुनुहुन्थ्यो एउटा देवरत परियार । बिपी कोइरालाले स्थापना गरेको पहिलो पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो । त्यसको १० जनाको कार्यसमितिमा देवरत्न परियार भन्ने संस्थापक सदस्य हुनुहुन्थ्यो ।

अनि सुवर्ण शमशेरले २००५ सालमा पार्टी खोल्नुभयो, जसको नाम नेपाल प्रजातन्त्र कांग्रेस थियो । १२ जनाको कार्यसमिति थियो । त्यसको संस्थापक सदस्य आरएनबी गतराज भन्ने एउटा विश्वकर्माको छोरालाई बनाउनुभयो । त्यो हाम्रो पार्टी, त्यो हाम्रा अग्रजहरूले दिएको मान थियो । अहिले म बिपी कोइरालालाई सुवर्ण शमशेरलाई सम्झिरहेको छु ।

यो महाधिवेशनसँग जोडिएर जसरी मैले उपसभापतिको उम्मेदवारी दिएको थिएँ । यी दुई नामहरू मेरो अनुहार, आँखा, मस्तिष्क, मुखमा झलझली आए । आज मलाई देश र विश्वभरबाट आएका महाधिवेशन प्रतिनिधिले जुन मत दिनुभएको छ, म अत्यन्तै खुसी छु ।

उहाँहरुले मलाई अत्यन्त सम्मानजनक मत दिनुभएको छ । त्यहाँ तपाईँले गन्नुभयो भने थाहा हुन्छ, धरै मत बदर पनि भएको छ । त्यो बदर किन भएको छ भने महाधिवेशन प्रतिनिधिले दुई वटामा भोट हाल्नुभएको छ ।

एउटा जीवन परियार, एउटा सीता गुरुङ । एउटा जीवन परियार अर्को रन्जित कर्ण । एउटा जीवन परियार अर्को फर्मुल्लाह मन्सुर । एउटा जीवन परियार अर्को विनोद चौधरी । हो(यसरी भोट आएका कारण मेरो पराजय भएको हो । समावेशी कोटामा एउटा मात्रै मत हाल्नुपर्छ भन्ने कुरा उहाँहरुले यादै गर्नुभएन ।

राम्रोसँग पढेर मत नहालेको धेरै बदर भएको छ । म टेक्निकल्ली रुपमा मात्रै चुनाव हारेको छु । प्रतिनिधिको मनबाट म हारेको छैन ।

हामीले नारा चाहिँ सुधारिएको कांग्रेस, पुस्तान्तरण, रूपान्तरण भएको कांग्रेस भन्ने लगायौँ । तर, हामीले आफैँ व्यवहारमा यसको कति कार्यान्वयन गर्दैछौँ भन्ने कुरा गम्भीर समीक्षा गर्नुपर्छ । प्रतिनिधिहरूप्रति सबैको उच्च सम्मान छ । तर, हामी नेतृत्वमा बसेका व्यक्तिहरूले चाहिँ यस्तो कुरालाई ख्याल गर्नुपर्छ कि जस्तो लाग्यो । म अत्यन्तै भावुक भएर बिपी कोइराला र सुवर्ण सम्झेर सम्झिरहेको छु । हामीले उहाँहरुलाई कति न्याय गर्न सक्यौं भन्ने कुराको विश्लेषण गर्नु जरुरी छ ।

पार्टीमा देखिएको पुस्तान्तरण, रूपान्तरण, परिवर्तन समावेशीको मुद्दालाई १५ औं महाधिवेशनले न्याय गर्‍यो ?

कुनै पनि घटना परिघटनाले बहस सिर्जना हुन्छ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको पदाधिकारीमा जुन खालको नतिजा आयो नि, यो नतिजाले सबैको मस्तिष्क हल्लिएको छ । यसको मतलब म हारेको भन्नेमा मलाई कुनै चित्त दुखाई छैन । प्रतिस्पर्धा नै विनोद चौधरीसँग भयो । प्रतिस्पर्धा नै फर्मुल्लाह मन्सुरसँग भयो । यो त स्वभाविकै कुरा थियो । मलाई व्यक्तिको बारेमा केही पनि गुनासो छैन । तर जुन मतदाताले मलाई मत दिएर सम्मान गर्नुभएको छ, मेरा लागि त्यो जितभन्दा पनि ठूलो उपहार हो । मतदाता मेरा भगवान हुन् । म हारेको कारणले दुःखी छैन । जुन मतदाताले त्यो ढङ्गको सपना बोक्नुभएको थियो । त्यो पूरा गर्ने ठाउँमा म पुग्न पाइन भन्ने मात्रै चिन्ता छ ।

जीवन परियार र विनोद चौधरी एकसाथ सँगै लड्न पाउने विधान परिमार्जन गर्न आवश्यक छ ?

वर्गीय आधारमा विधान बन्दैन । विधान भनेको राजनीतिक दस्तावेज हो । विधानमा वर्गीय हिसाबले यति पैसा भएको मान्छे लड्न पाउने, यति भएको लड्न नपाउने भन्ने हुँदैन । त्यो कुरा व्यवहारिक हुँदैन । नैतिकता भन्ने कुरा चाहिँ एउटा पाटो होला । नेपालको वर्तमान सामाजिक परिवेश र राजनीतिमा एक ढंगले भन्ने हो भने लगभग सबै पार्टीमा खसआर्यहरूकै बहुल्यता छ । हामीले विधानमा खुला, महिला उपसभापति र दलित महिला उपसभापति बनाउने भन्ने विषय पनि उठेको हो ।

उपसभापति जो महिला बनाएपनि जनजाति र दलित कोही पनि आउँदैनन् । यहाँ खस आर्य नै आउने हो । युवा कोटा बनायो भने पनि त्यहाँ तपाईँले एउटा पनि दलित भेट्नुहुन्न । त्यहाँ पनि खस आर्य नै आउने हो । त्यस कारणले गर्दा यो विधानको मस्यौदा बनाउँदा म आफैँ थिए । यो विधान म आफैँले बनाएको हो ।

विधानमा तपाईंहरुले महिला कोटा त थप्नुभयो, इट्स ओके, महिला पछाडि परेका छन् उहाँहरुलाई दिनैपर्छ, म त्यसलाई सम्मान गर्छु तर महिलाको अलावा तपाईँहरूले दलितलाई पनि दिनुपर्छ, महिलाभन्दा पनि पछाडि परेको वर्ग दलित हो, जो पछाडि परेको छ, त्यसलाई पो पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मेरो तर्क रह्यो ।

तर मैले तर्क गर्दा उहाँहरुले अहिले सकिँदैन, सुरुमा महिलालाई दिउँ, पछि बनाएर जाउँला भन्ने कुरा गर्नुभयो । त्यसो भने एउटा बाटो खोल्दिनुस्, समावेसी कोटा बनाइदिनुहोस् ।

उपसभापति भन्ने पद बनाउनुहोस् त्यसमा महिला पनि लड्छन, दलित पनि लड्छ । थारु पनि लड्छन , मुस्लिम पनि लड्छन, हामी सबै लड्छौँ ।

त्यहाँबाट पनि एउटा समावेशी चरित्रको पदाधिकारी हुन्छ भन्ने आइडिया दिने मान्छे मै हो । त्यो कुरा पार्टीले पनि मान्यो र त्यो पद बनेको । विनोद चौधरीको ठाउँमा अर्को पनि आउन सक्थ्यो ।

भनेपछि नैतिकताको कुरा मुख्य रह्यो ?

हो, मुख्य कुरा नैतिकता हो । त्यहाँ विनोद चौधरी लड्न पाउँदैन, अथवा फर्मुल्लाह मन्सुर लड्न पाउँदैन भन्ने कुरा होइन । समावेशी कोटामा जाने, नजाने भन्ने विषय व्यक्तिको रोजाई हुन्छ । नैतिकताको विषय हुन्छ । तँ लड्न पाउँछस्, तँ लड्न पाउँदैनस्, तँ यो कारणले लड्न पाउँछस्, यो कारणले पाउँदैनस् भन्न चाहिँ मिल्दैन । तर व्यक्तिले स्वयं आफू कहाँ जाने भन्ने कुरा चाहिँ निर्धारण गर्नुपर्छ ।

विनोद चौधरीले चाहिँ म यो कोटामा लड्दिनँ, खुल्ला लड्छु भन्नुभएको भए उहाँको नैतिकताले दिन्थ्यो ।

मैले चाहिँ मलाई यही ठाउँ उपयुक्त हुन्छ भनेर निवेदन दिएको हो । त्यसकारण यसमा धेरै टिका टिप्पणी गरेको राम्रो देखिँदैन । आफूले जुन पद डिजर्भ गर्छ, त्यसमा जान पाइयो ।

तर हामीले इतिहासको कांग्रेस कस्तो थियो र अहिलेको कांग्रेस कस्तो बन्दैछ भन्ने कुराको पनि गम्भीर विश्लेषण गर्नुपर्छ । पराजयसँग मलाई कुनै समस्या छैन ।

तर कांग्रेस नीति सिद्धान्त र भावनाअनुसार चलोस् भन्ने मेरो एउटै मात्र संकल्प हो । जतिबेला कांग्रेसको स्थापना भएको थियो, त्यसबेला काङ्ग्रेस कति समावेशी थियो भन्ने कुरालाई हेरौँ । हामीले मुखमा मात्रै आदर्श र नैतिकताको कुरा गरेर हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन । तर म के भन्छु भने निर्वाचनको परिणामलाई मैले सहर्ष स्वीकारेको छु । एउटा निर्वाचनबाट मैले गतिलो सन्देश पनि स्थापना गर्न सके ।

निर्वाचनअघि पदाधिकारीमा सहमति जुटेको थियो ?

मलाई यो विषय थाहा छैन । मलाई एक पटक पनि बोलाएर यसरी सहमति गरौँ, भनेर कुनै पनि नेताले भन्नुभएको थिएन । मिलाउने कुरामा न चुनावअगाडि भन्नुभयो न चुनावपछाडि । उहाँहरुले केही कुरा गर्नुभएको भए मलाई जानकारी छैन । मेरा मतदाताहरूलाई मेरो अत्यन्तै उच्च सम्मान छ ।

म देशको कुनाकन्दराबाट आउनुभएका, ४० डिग्री घाममा काम गरेर विदेशबाट आएका महाधिवेशन प्रतिनिधि साथीहरुले मतदान गर्नुभएको छ । म असाध्यै खुसी छु । म उहाँहरूलाई असाध्यै ठूलो आभार र धन्यवाद ज्ञापन गर्छु । जो तल्लो तहबाट आएका मान्छेहरु छन् उहाँहरूसँग मेरो एक्सेस छ ।

म मतदाताप्रति अत्यन्तै सन्तुष्ट छु । उहाँहरूलाई म धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।

 

 

 

 

खबरहबबाट साभार